काठमाण्डु – चितवनको रत्ननगर नगरपालिका कयरखोलास्थित भित्री सडक खण्डमा गुडिरहेको बसमा अचानक आगो लागेको छ ।
पर्साबाट पिठुवातर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०१८८ नम्बरको बसमा शुक्रबार राति अचानक आगलागी भएको हो।
स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा खैरहनी नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।
घटनामा मानवीय क्षति नभए पनि बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। आगलागी भएको बसका चालक तथा मालिक चितवनको कालिका नगरपालिका–९ शक्तिखोर निवासी ५२ वर्षीय कुलबहादुर रायमाझी रहेका छन्।
बसमा आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल अस्थायी प्रहरी पोस्ट पिठुवाबाट करिब दुई किलोमिटर पूर्वमा पर्छ।
प्रतिक्रिया