काठमाण्डु- संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएसँगै प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
सभामुख अर्याल शुक्रबार महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताको विषय सार्वजनिक गरिएको छैन। तर संसद् अधिवेशन अन्त्य गरेपछि सभामुख अर्याल र संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय विदेश भ्रमणमा जाँदैछन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको हो।
यसैबीच हतार हतार संसद् अधिवेशन अन्त्य गरेपछि सभामुख अर्याल र महासचिव पद्मप्रसाद पाण्डेयसहितको टोली अन्तरव्यवस्थापिका संघ (आईपीयू) को बैठकमा सहभागी हुन तान्जानिया जाने भएको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीले आगामी आइतबार सभामुख र महासचिवलगायतको टोली विदेश भ्रमणमा जाने कार्यक्रम तय भएको जानकारी दिए ।




प्रतिक्रिया