काठमाण्डु–विदेश भ्रमणको खर्च कटौती गर्न टोलीको आकार सानो बनाउने सरकारी नीतिको खिल्ली उडाउँदै सभामुख डोलप्रसाद अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय तान्जानिया भ्रमणमा जाने तयारीमा छन् ।
भ्रमणका नाममा हुने सरकारी खर्चमा मितव्ययी अपनाउन वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले एक टोलीमा पाँच जनाभन्दा बढी जान नमिल्ने नीति लिएको छ । तर, त्यसलाई छल्न सभामुख र महासचिवले चोरबाटो अपनाएका छन् ।
एकै टोलीमा जाँदा सरकारले खर्च नब्यहोर्ने भएपछि एउटै कार्यक्रममा जान दुई टोली बनाएर जाने ‘खुराफाती’ नीति अख्तियार गरिएको छ ।
अन्तरव्यवस्थापिका संघ (आईपीयू) को सम्मेलनमा सहभागी हुन सभामुख अर्याल र महासचिव पाण्डेय आइतबार तान्जानिया जान लागेका छन् ।
यस्तो रबैयाले सरकारले अघि सारेको सुशासन र मितव्ययिताको नीतिको खिल्ली उडाएको संसदका एक वरिष्ठ अधिकारी बताउँछन् ।
अर्यालको टोलीमा उनीसहित राष्ट्रिय सभा सदस्यहरु एमालेकी अञ्जान शाक्य र नेकपाका झक्कुप्रसाद सुवेदी तथा सभामुख सचिवालयका मधु मिजार छन् ।
महासचिव पाण्डेयको टोलीमा संसद्का सचिव प्रकाश अधिकारी र सह–सचिव रेखा उपाध्याय छन् ।
सरकारले विदेश भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन नयाँ व्यवस्था लागू गरेको छ । सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था पनि गरिएको छ ।
संसद् पदाधिकारीको तान्जानिया भ्रमणका कारण चालु अधिवेशन अन्त्य गराउने विषयले पनि थप प्रश्न उठाएको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकमा सुरुमा संसद्को अधिवेशन अन्त्य गर्ने विषयमा छलफल नै नभएको मन्त्रीहरु बताउँछन् ।
बैठकपछि सरकारका प्रवक्ताले सार्वजनिक गरेको निर्णयमा पनि अधिवेशन अन्त्यको विषय समावेश थिएन ।
तर, बैठकपछि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह र महासचिव पाण्डेले मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई फोन गरेर अधिवेशन अन्त्यका लागि आग्रह गरेको स्रोतले जनाएको छ ।
आफूहरूको विदेश भ्रमणको तयारी पूरा भइसकेकाले अधिवेशन अन्त्य गरिदिन सभामुख र महासचिवले आग्रह गरेको स्रोतको दाबी छ ।
त्यसपछि अधिवेशन अन्त्यको सिफारिस अघि बढाइएको थियो । बैठकमा आफ्ना मन्त्रालयका विधेयक संसद्मा दर्ता गराउने तयारी गरिरहेका एक मन्त्रीले अधिवेशन अन्त्यको सिफारिसबारे जानकारी पाएपछि आफू ‘झसङ्ग’ भएको बताएका छन् ।
यसरी सरकारकै मितव्ययिता र सुशासनको नीतिअनुसार विदेश भ्रमण सीमित गर्ने व्यवस्था रहेका बेला संसद्का पदाधिकारीको भ्रमणका लागि अधिवेशन अन्त्यसम्मको प्रक्रिया अघि बढाइएको घटनाले सरकारको सुशासन अभियानमाथि नै व्यंग्य गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को चालु अधिवेशन अन्त्य गरिसकेका छन् । यससँगै सभामुख र महासचिवसहितको टोलीलाई आइतबार तान्जानिया जाने बाटो खुलेको छ ।




प्रतिक्रिया