काठमाण्डु- चितवनको राप्ती नगरपालिका –४ स्थित पूर्व(पश्चिम राजमार्गको खहरे पुलमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा २५ जना घाइते भएका छन्।
धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इलेक्ट्रिक गाडी शनिबार ठोक्किएको हो ।
घाइतेहरूलाई भरतपुर अस्पताल, एलाईभ अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।
मृत्यु हुनेमध्ये दुई जनाको मात्रै पहिचान भएको छ । मृत्यु हुनेहरूमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोम प्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नामथर खुल्न नसकेकी १८/१९ र २४/२५ वर्षीया दुई महिला, २२/२३ वर्षीय पुरुष, ३०/३५ वर्षीया गर्भवती महिला र ३५/४० वर्षीय पुरुष छन्।
एलाईभ अस्पतालमा उपचाररत घाइतेहरूमा मकवानपुरका सक्षम थापा, सिंहबिर घलान, विष्णु लम्साल र गंगा घलान छन्। यस्तै पुरानो मेडिकल कलेजमा झापा गौरादह–९ की सुशीला बराल, उमा बराल, कञ्चनपुर बेलौरी–४ का वीरबहादुर जैसी र रुकुम पश्चिम आठबिस्कोट–९ का सन्देश ओलीको उपचार भइरहेको छ ।
नयाँ मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा दुवै सवारी साधन रहेकाले दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ। प्रहरीले क्रेनको सहायताले बाटो खुलाएको छ ।
प्रतिक्रिया