यसरी भयो बाढीमा फसेको बसबाट यात्रुको उद्धार (तस्बिरहरू)

यसरी भयो बाढीमा फसेको बसबाट यात्रुको उद्धार (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वी नवलपरासीको दुम्कीबासमा विनयी खोलाको बाढीमा फसेको बसबाट मध्यरातमा यात्रुको सकुशल उद्धार भएको छ । ३८ जना यात्रु लिएर काठमाण्डुबाट नेपालगञ्जको लागि छुटेको भे १ ख ४०८५ नम्बरको बस गएराति झन्डै १२ बजेतिर बाढीमा फसेको थियो ।

बस बाढीमा फस्नेबित्तिकै एक्साभेटरको सहायताले सबै यात्रुको सकुशल उद्धार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार डाइभर्सनबाट बस पार गर्दै गर्दा खोलामा ठूलो बाढी थिएन । बीचमा पुगेपछि बस एक्कासी डाइभर्सनमा फस्यो । बस फस्नेबित्तिकै १४ जना यात्रु आफैं बसबाट निस्किएर खोला पार गरे ।

बस बाँकेका २९ वर्षीय नरेन्द्र बोगटीले चलाएका थिए। उनी सँगै अर्का चालक बाँकैकै टीकाराम पाण्डे पनि थिए। लामो रुटमा चल्ने बसमा दुईजना चालक हुनुपर्ने नियम छ।
बाँकी २४ जना बसको छतमा गएर बसे र उद्धारको लागि प्रहरीसँग अनुरोध गरे । त्यसपछि प्रहरीले तत्कालै एक्साभेटरको मद्दतले यात्रुको सकुशल उद्धार गरेको डीएसपी नेपालले बताए ।

प्रहरीले सबै यात्रुको झन्डै दुई घण्टा लगाएर उद्धार गरेका थिए । लगत्तै खोलामा ठूलो बाढी आएर डाइभर्सनसँगै बसलाई पनि बगाएको प्रहरीले जनाएको छ । बाढीले बगाएको बस झण्डै एक किलोमिटर तल फेला परेको छ ।

विगत केही दिनयता बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पुर्‍याउँदै आएको छ । प्रहरीले नारायणघाट–बुटबल सडक भएर यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । गएको पुसमा ठूलो ट्रकले पुल भाँचिएपछि विनयी खोलामा डाइर्भसनबाट गाडी ओहोरदोहोर हुँदै आएको छ । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ । दुम्कीबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बीच बाटोमै अलपत्र छन् ।