काठमाण्डु — बुटवल–नारायणगढ सडक ओयोजनाको पूर्वी खण्डको कार्यालय प्रमुख इन्जिनियर आशिष थापालाई स्पष्टीकरण सोधिएको छ । म्याद एक वर्ष थपेको दुईसाता बितिसक्दा पनि ठेकेदार कम्पनीले काम सुरु नगरेपछि प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले स्पष्टीकरण सोधेका हुन् ।
‘राजमार्गमा कहीँ कतै काम गरेको नदेखिएपछि यो सडक हेर्ने सरकारी कार्यालय बुटवल–नारायणगढ सडक निर्माण आयोजनाको पूर्वीखण्डको कार्यालय गैंडाकोटमा छड्के जाँचमा जाँदा कार्यालयमा पालेबोहक कोही भेटिएनन् । सबै काठमाडौं गएका रहेछन्,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘सडक निर्माणको काम हेर्ने आयोजना प्रमुखसहित कर्मचारी कोही पनि नभएपछि ठेकेदारले किन काम गर्थ्यो र ?’
पोखरेलले कार्यालय प्रमुख, इन्जिनियरलगायत कर्मचारी नबसेर कार्यालय नै रित्तो बनाएकोले स्पष्टीकरण सोधिएको जानकारी दिए ।
चिनियाँ ठेकेदारले निर्माण गर्ने बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गतको दाउन्नेदेखि गैंडाकोट क्षेत्रको सडक यही कार्यालयले हेर्छ ।
‘त्यहाँ गार्डबाहेक कोही भेटिएन । यता राजमार्गमा कहीँ कतै काम गरेको देखिँदैन । चाडाबाड सुरु हुन लाग्यो राजमार्गको यस्तो बिजोग छ,’ पोखरेलले भने, ‘राजमार्गमा काम नगर्नुको कारण के हो भनेर स्पष्टीकरण सोधेको छु ।’
राजमार्गमा जताततै ठूलाठूला खाल्डा परेकाले पानी पर्दा हिलैहिलो र घाम लाग्दा धुलौधुलो हुन्छ । एक दिन पानी परेन भने राजमार्ग धुलोले हिँडनै नसकिने हुन्छ । देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिकका र विनयी त्रिवेणी गाउँपालिका भित्रको सडकमा यस्तो समस्या छ । दाउन्नेदेखि पूर्व चोरमारासम्मको क्षेत्रमा हिँडनै नसकिने अवस्था छ ।
०७५ चैत ८ मा ११३ किलोमिटर विस्तारको ठेक्का भएको थियो । सुरु सम्झौता अनुसार ०७९ साउन २२ भित्र निर्माणको काम सकिसक्नु पर्नेमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थपिएको हो । सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो ।
ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियर कर्पोरेसनले वर्षाको कारण देखाउँदै एकाएक काम रोकेको हो । ठेकेदारले वर्षाको कारण तेर्स्याउँदै कात्तिक १५ पछि काम थाल्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया