२०८२ असारसम्म सडक बालबालिकामुक्त राज्य बनाउने सरकारको निर्णय

२०८२ असारसम्म सडक बालबालिकामुक्त राज्य बनाउने सरकारको निर्णय


काठमाण्डु – सरकारले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त राज्य बनाउने निर्णय गरेको छ ।

गत असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बैठकले बाढीपहिरो जस्ता विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतकसरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले देशका विभिन्न भागमा हालै गएको बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण, पीडित परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकले कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप ‘फ्लड लाइट जडान’ र ‘प्याराफिट’ निर्माणको कार्य ३०० दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोकेको छ ।

परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उनले जानकारी दिए । मन्त्रिपरिषद्ले नेपाल सरकारको रिक्त मुख्यसचिव पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (हाल निमित्त मुख्यसचिव) लीलादेवी गड्तौलालाई कायममुकायम मुकरर गरेको छ ।

बैठकले नेपालमा लोकतन्त्र स्थापना गर्नका लागि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरेको छ ।