काठमाण्डु – सरकारले सरकारी निर्णय प्रक्रियालाई सरलीकरण तथा डिजिटल बनाउनेदेखि सूचीकरण भएका निकायको हित नि:सर्गबाट प्राप्त लाभमा अग्रिम करको दर निर्धारण, कर्मचारी बढुवा तथा राहत कोष सञ्चालन सम्बन्धी विभिन्न निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गरेको छ । यससँगै सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल हुनेछ ।
बैठकले नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको नि:सर्गबाट प्राप्त लाभमा अग्रिम करसम्बन्धी व्यवस्था पनि गरेको छ । जसअनुसार धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय गरेको छ ।
नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय भएको छ ।
साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी कारबाहीका लागि साउदी नागरिक कानून व्यवसायीलाई वारेसनामा अर्थात् पावर अफ एटर्नी दिई बीमा तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
बैठकले ‘चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३’ समेत स्वीकृत गरेको छ । नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्को २०८३ भदौ ३१ गतेको बैठकका मुख्य निर्णयहरूः
१.सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने ।
२.नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट, प्राप्त लाभमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी, अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने ।
३.नेपाल न्याय सेवा, न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू श्री ठगीन्द्र कट्टेल, श्री रामप्रसाद भट्टराई र श्री बाबुराम दाहाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने ।
४.साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा÷क्षतिपूर्ति रकमसम्बन्धी कानूनी कारबाहीका लागि साउदी नागरिक कानून व्यवसायीलाई वारेसनामा (पावर अफ एटर्नी) दिई बीमा÷क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाउने सम्बन्धी आदेश जारी गर्ने ।
५.चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गर्ने ।
६.नेपाल प्रशासन सेवाका सहसचिव श्री कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।




प्रतिक्रिया