यी हुन् बालकुमारी घटनाबारे मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णयहरू


काठमाण्डु – सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको उनले बताइन् ।

घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन पनि गृह मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले सचेत गराएको छ ।

सरकारले घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन पनि सबैलाई अपिल गरेको छ । मन्त्रिपरिषद् बैठकले आगामी दिनमा त्यस्ता घटना हुन नदिने प्रतिबद्धता समेत जनाएको छ ।

मन्त्री शर्माले आगामी दिनमा त्यस्ता घटना हुन नदिने गरी सतर्कता, संयमता बनाउन गृह मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement