काठमाण्डु – सरकारले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको मंसिर ६ र ७ गते हुने भारत भ्रमण स्वीकृत गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमण गर्दैछन्। उनी आइतबार दिउँसो १ : ४५ बजे नेपाल वायुसेवा निगमको जहाजमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम छ।
भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च अधिकारी सहभागी हुनेछन्। नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन्।
त्यस्तै बैठकले चीन सरकारले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको उद्धार तथा राहतका लागि उपलब्ध गराउने २ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट र्यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि भएको छ ।
सरकारले नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय पनि गरेको छ ।
बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गरेको छ ।



प्रतिक्रिया