सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी,बालकुमारी घटनामा छानबिन आयोग गठन गर्ने तयारी


काठमाण्डु – मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सोमबार बिहान साढे ८ बजेदेखि मन्त्रिपरिषद्को बैठक बसेको हो।

बैठकले गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको गोलिकाण्ड घटनामा उच्चस्तरीय छानबिन आयोग गठनको निर्णय गर्ने बुझिएको छ ।

यस घटनामा पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठनको प्रस्ताव ल्याउन प्रधानमन्त्रीले हिजो गठबन्धन दलको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका थिए ।

बालकुमारी घटनामा अछामका २२ वर्षीय वीरेन्द्र साह र दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो । सरकारले मृतक परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत दिने यसअघि नै निर्णय गरिसकेको छ ।

यसअघि घटना भएकै दिन घटनासम्बन्धी छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा समिति गठन भएको थियो ।

गृह मन्त्रालयको प्रस्तावमा मन्‍त्रिपरिषद्‍को बैठकले आयोग गठनको आज औपचारिक निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement