प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमणमा रोक लगाउने सरकारको निर्णय


काठमाडौं– मन्त्रिपरिषदको बैठकले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणममा रोक लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री राउतले एनजिओको कार्यक्रममा सहभागी हुन अमेरिका जान अनुमति माग्दै पठाएको सिफारिसलाई सरकारले अस्वीकार गरेको हो ।

मन्त्रिपरिषदको बैठकले बजेट र संगठनात्मक संरचनामा महत्वपूर्ण काम भइरहेका बेला एनजिओका काममा जान उपयुक्त नदेखिएको ठहर गरेको छ । रावत ‘जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन इन अमेरिका’ को निम्तोमा अमेरिका जाने तयारीमा थिए । सुचना तथा सञ्चार राज्यमन्त्री गोकुल बांस्कोटाले रावतको भ्रमण अस्विकृत भएको जानकारी दिए ।

बैठकले मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव पनि पारित गरेको छ । झापाको शान्तिनगरदेखि चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौंडा–गैँडाकोट–रामपुर– तम्घास–सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बट्टचौर–सीमचौर, बिपीनगर, सहजपुर, जोगबुढा र रुपालसम्म पुग्नेगरी १,२०० किलोमिटरको चुरे तथा भित्रीमधेश जोड्ने गरी सो राजमार्ग निर्माणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

त्यसैगरी मन्त्रिपरिषद्ले ३३ किलो सुन तस्करी छानबिनसम्बन्धी समितिको म्याद यही जेठ मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय बीमा संस्थानका प्रशासकमा कविप्रसाद पाठकलाई नियुक्त गरेको छ भने मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्नेे निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement