मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री, को बन्लान् नेकपाबाट मन्त्री ? 


 काठमाडौं – सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६र७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष्टि गरेका छन् ।

पोखरा पुगेर अध्यक्ष प्रचण्डले मन्त्रीहरूको जिम्मेवारी फेरिनेबारे बोलेका हुन् । उनले १८ जेठमा विराटनगर विमानस्थलमा पनि पत्रकारहरूसँग कुरा गर्दै सरकारको कामलाई गति दिन मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका थिए । 

मन्त्रिपरिषद्मा शक्ति सन्तुलन 

बजेट पारित भएलगत्तै नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि २४वटै मन्त्रालयले आर्थिक वर्षको कार्ययोजना पेस गरेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने गरी ओली र प्रचण्डबीच पटक–पटक छलफल भएको नेकपानिकट उच्च स्रोतले बतायो । 

२४ सदस्यीय मन्त्रिपरिषद्मा पूर्वएमाले समूहबाट प्रधानमन्त्रीसहित १३ जनाको प्रतिनिधित्व छ । पूर्वएमाले समूहबाट ११ मन्त्री र १ राज्यमन्त्री छन् । त्यस्तै, पूर्वमाओवादी समूहबाट ७ मन्त्री र एक राज्यमन्त्रीसहित ८ जना सहभागी छन् । समाजवादी पार्टी नेपालका तर्फबाट २ मन्त्री र १ राज्यमन्त्री छन् । 

वार्षिक कार्ययोजना कार्यान्वयनबारे प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाको अनलाइन मूल्यांकनमा कमजोर पर्फमेन्स भएका आधा दर्जन मन्त्रीलाई बिदा गरेर नयाँ मन्त्री नियुक्त हुन सक्ने स्रोतको भनाइ छ । 

पुनर्गठनको दबाबमा ओली–प्रचण्ड

गत १५ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका छन् । भिजिट नेपाल–२०२० आयोजना गरिएकाले रिक्त पर्यटन मन्त्रालय सम्हाल्ने मन्त्री नियुक्ति गर्नैपर्ने दबाबमा प्रधानमन्त्री छन् । 

स्रोतका अनुसार स्थायी समिति सदस्य योगेश भट्टराईलाई प्रधानमन्त्री ओलीले पर्यटनमन्त्री बनाउन चाहेका छन् । पर्यटन, सञ्चार या अन्य कुनै विकासे मन्त्रालयमध्ये रोजेर लिन भट्टराईलाई प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत सन्देश सुनाएका छन् । भट्टराईले भने मन्त्री बन्ने चर्चा र बनाउने नेतृत्वले तयारी गरिरहेको केही जानकारी नभएको बताए । 

रिक्त मन्त्रालयमा पूर्वएमालेबाट कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, यज्ञराज सुनुवार, प्रेम आलेलगायत आकांक्षी छन् । पूर्वमाओवादी समूहबाट देवेन्द्र पौडेल, प्रभु शाहलगायत आकांक्षी भएको स्रोतले बतायो । एकातिर आकांक्षीहरूको दौडधुप, अर्कातिर कमजोर ‘पर्फमेन्स’ भएका मन्त्रीहरू हेरफेर गर्नुपर्ने पार्टीभित्रैको दबाबमा अध्यक्षद्वय रहेको स्रोतले बतायो ।

रिक्त मन्त्रालयमा पूर्वएमालेबाट कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, यज्ञराज सुनुवार, प्रेम आलेलगायत आकांक्षी छन् । पूर्वमाओवादी समूहबाट देवेन्द्र पौडेल, प्रभु शाहलगायत आकांक्षी भएको स्रोतले बतायो । आजको नयांपत्रिका दैनिकमा समाचार छ । 

 

प्रतिक्रिया दिनुहोस
Advertisement