प्रधानमन्त्री ओलीले चीनबाट फर्केपछि मन्त्री हेरफेर गर्ने

प्रधानमन्त्री ओलीले चीनबाट फर्केपछि मन्त्री हेरफेर गर्ने


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन चित्त बुझ्दो नभएका मन्त्रीहरूलाई बिदा गरेर नयाँ सांसदलाई मन्त्रीको जिम्मेवारी दिने तयारी थालेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो चीनको १७ देखि २० मंसिरसम्मको भ्रमणबाट फर्केपछि मन्त्री फेर्ने निकटस्थहरूसँग बताएका छन् ।

उनी निकट एक एमाले नेताका अनुसार चीनबाट फर्केपछि ओलीले पहिलो काम मन्त्री फेरबदललाई बनाउने छन् । ‘हामीसँग प्रधानमन्त्रीज्यूले चीन भ्रमणबाट फर्केपछि पहिला काम गर्न नसकेका मन्त्रीलाई फेर्छु भन्नुभएको छ,’ ती नेताले भने, ‘उहाँको असन्तुष्टि कांग्रेसबाट मन्त्री बनेकाहरूसँग भन्दा एमालेबाटै मन्त्री बनेकाहरूसँग छ । काम गरेर देखाउने बेलामा मन्त्रीहरूले जागिर खान आएजस्तो गरेकोले नयाँ र उत्साहीलाई लाएर पुरानालाई बिदा गर्छु भन्नुभएको छ ।’

ओलीले सरकारमा काम कारबाही कसरी अगाडि बढिरहेको छ भनेर बुधबार सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा बैठक राखेका थिए । त्यसमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएको बताएका थिए । आफू मुलुकको खराब स्थितिलाई सकारात्मक परिवर्तन ल्याउनैपर्ने बाध्यता रहेको बताउँदै अहिले भइरहेको काम कारबाही र कार्यशैलीले परिवर्तन सम्भव नदेखिएकाले फेरबदल आवश्यक रहेको संकेत गरेका थिए ।

मन्त्रीहरू आफैले आफ्नो निर्देशन बमोजिम मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट कार्यान्वयनका साथै सरकारले गर्ने मुख्य कामबारे ल्याएको ठोस योजना कार्यान्वयनमा नआएको ओलीको भनाइ थियो ।

त्यो कार्ययोजना कार्यान्वयन भएको भए पनि जनताले महसुस गर्ने गरी काम नभएको र परिवर्तनको महसुस हुन नसकेको बताउँदै उनले अब यसरी अगाडि नबढ्ने बताएका थिए ।

३१ असारमा प्रधानमन्त्रीको शपथ लिएलगत्तै २२ मन्त्री नियुक्त गरेका ओलीले अब कम्तिमा ५ मन्त्रीलाई बिदा गर्ने तयारी गरेको उनी निकट स्रोत बताउँछ । तर, यी मनत्रीलाई उनले बिदा गर्दैछन् भन्ने केही एकिन भइसकेको छैन ।

प्रधानमन्त्री ओली सुशासन, राजश्व संकलन, योजना कार्यान्वयनमा सरकारले गति लिन नसकेकोका अहसन्तुष्ट छन् । ओलीले व्यक्तिगत रूपमा कसैलाई केही नभने पनि सम्बन्धित विषय देखाएर धेरै मन्त्रीप्रति असन्तुष्टि जनाएका एक मन्त्रीले जानकारी दिए ।

निकटस्थ स्रोतका अनुसार राजस्व उठ्न नसकेको र अर्थतन्त्र चलायमान बन्न नसकेको भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुपौडेलसँग, गत असोज ११ र १२ गते आएको अविरल वर्षापछि आएको बाढी पहिरोले गरेको नोक्सानीको पुननिर्माण सोचेअनुरुप अगाडि बढ्न नसकेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालप्रति, बागमती नदि किनारमा छोड्नुपर्ने २० मिटर कि ४० मिटर भन्नेमा उपर्युक्त समन्वय गर्न नसकेको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग प्रधानमन्त्री ओली रुष्ट छन् । यी सबै नेकपा एमालेबाट मन्त्री भएका हुन् । यी सँगै एमालेबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको कामप्रति पनि ओली सन्तुष्ट नरहेको उनी निकट स्रोतले बतायो ।

कांग्रेसबाट मन्त्री भएर गौशाला धर्मशाला तथा चाडवाडको समयमा हवाइ यातायातको व्यवस्थापन राम्रोसँग गर्न नसकेको भन्दै सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, सहरी विकासमा योजनाहरूको प्रगति सन्तोषजनक हुन नसकेको भन्दै उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियासँग असन्तुष्ट छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार जनता समाजवादी पार्टीबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका नवलकिशोर शाह सुडी र खानेपानी मन्त्री बनेका प्रदीप यादवको कार्यसम्पादन पनि सन्तोषजनक नरहेको निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् । लोकतानित्रक समाजवादी पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका सरतसिंह भण्डारीको काममा पनि प्रधानमन्त्री ओली सन्तुष्ट छैनन् ।

प्रधानमन्त्रीको सचिवालयले भने मन्त्री फेरबदलबारे अनविज्ञता प्रकट गर्‍यो । सचिवालयका एक सदस्य भन्छन्, ‘मन्त्री परिवर्तनको बाहिर ब्यापक हल्ला छ । भित्र कुनै तयारी भएको छैन ।’

सरकारका कामकारबाही प्रभावकारी हुन नसकेको भनेर प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग असन्तुष्टि पोखेको भने सचिवालयका ती सदस्यले स्वीकारे ।