नेपाल टी–२० लिग खेल्ने ६ फ्रेन्चाइज टिमको घोषणा


काठमाण्डु – आगामी असोज–कात्तिकमा हुने पहिलो संस्करणको नेपाल टी–२० लिग खेल्ने फ्रेन्चाइज टिमको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)बुधबार नेपालको सात प्रदेश मध्ये कर्णालीबाहेक ६ प्रदेशबाट ६ टिमको नाम सार्वजनिक गरेको हो ।

फ्रेन्चाइज लिग खेल्ने टोलीमा विराटनगर, जनकपुर, काठमाण्डु, पोखरा, लुम्बिनी/भैरहवा र सुदूरपश्चिम रहेको छ ।
क्यानले जेठ ४ गते पत्रकार सम्मेलन गरी असोज ८ देखि कात्तिक ५ सम्म नेपाल टी–२० लिग हुने जानकारी गराएको थियो । लिगका खेल त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

क्यानले अब आफ्नै आधिकारिक फ्रेन्चाइज लिग आयोजना गर्ने भएपछि अहिले भएका विभिन्न फ्रेन्चाइज लिगलाई नेपाली क्रिकेटमा पु¥याएको योगदानको कदर गर्दै अब भने राष्ट्रिय लिगको मान्यता नदिने र क्षेत्रीय लिगको संरचनामा आयोजना गर्ने अनुमति दिने निर्णय समेत गरेको जनाएको छ ।

क्यानले आफ्नै लिग घोषणा गरेपछि नेपालकै चर्चित लिगको रुपमा चार संस्करण आयोजना भएको एभरेष्ट प्रिमियर लिग इपीएल आयोजक र त्यसका फ्रेन्चाइजले पत्रकार सम्मेलन गरेर क्यानले इपीएल आयोजना गर्न नदिए क्यानकै कार्यक्रम बहिरस्कार गर्ने घोषणा समेत गरेको थियो । तर क्यानले भने आफ्नै लिग गर्ने भएपछि अरु लिगलाई मान्यता नदिने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement