क्याप्टेन विजय लामाविरुद्ध फेरी अर्को उजुरी, प्रमाणित भए लाइसेन्स खारेज गर्ने तयारी


काठमाण्डु -नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामाविरुद्ध फेरी अर्को उजुरी परेको छ । विमानको ककपिटभित्रै एक भ्लगरलाई प्रवेश दिएर क्याप्टेन लामाले गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उनलाई उडानमा प्रतिबन्ध लगाइसकेको छ । लामाविरुद्ध क्यानमा फेरी अर्को उजुरी परेको स्रोत बताउंछ ।

लामाविरुद्ध उजुरी परेपछि क्यानले छानविनको लागि अरु विमान चालक र परिचालिकाहरुलाई समेत बयानका लागि बोलाएको छ । लामालाई उडिरहेको विमानको ककपिटमा यात्रुलाई प्रवेश दिएर गम्भीर सुरक्षा लापरबाही भन्दै नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आइतबारदेखि उडानमा प्रतिबन्ध लगाएको हो ।

लामाको अहिले बयान लिने काम भइरहेको छ । उनलाई कार्वाहीको तयारी भएको बताइन्छ । उनले अनुमति नलिएर चिनिया मुलका अष्ट्रेलियन भ्लगर साम चुईलाई ककपिटमा लगेको भिडियो र तस्बिर सार्वजनिक भएको थियो । उक्त भिडियोपछि क्यानले लामालाई उडानमा प्रतिबन्ध लगाएको हो ।

‘लामाले नियम कानुनको धज्जी उडाउने काम गरेका छन् । यो गलत कामलाई जो भएपनि प्रोत्साहन दिन मिल्दैन । स्पष्टीकरण चित्तबुझ्दो भएन र उनको गल्ती नै प्रमाणित भयो भने उनको लाइसेन्स नै खारेज हुनसक्छ ।’ क्यान स्रोतले काठमाण्डौंपाटीसंग भन्यो ।

अनुमति नलिएर ककपिटमा यात्रुलाई प्रवेश दिनुलाई गम्भीर सुरक्षा चुनौती र लापरबाही मानिन्छ । लामाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति नलिएकाले उनिमाथि कार्वाही हुने सम्भावना छ । लामाविरुद्ध यो भन्दा पहिला पनि यसैगरी प्रदिप शाहीलाई समेत ककपिटमा राखेको भन्दै उजुरी परेको छ । त्यो घटनाको पनि क्यानले छानविन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement