चितवनको क्यान्सर अस्पतालमा औषधि अभाव, केमोथेरापी सेवा प्रभावित

चितवनको क्यान्सर अस्पतालमा औषधि अभाव, केमोथेरापी सेवा प्रभावित

कार्बोप्लाटिन र सिसप्लाटिन औषधिको चरम अभाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-चितवनको विपी कोइराला ममोरियल क्यान्सर अस्पतालमा क्यानसरको औषधि अभाव भएको छ । अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण साहका अनुसार हाल क्यान्सर उपचारमा प्रयोग हुने औषधिहरुको अभाव भएको हो । उनले भने औषधिको अभावले केमोथेरापीको प्रभावकारिता घट्ने मात्र नभई, बजारमा हुने अवैध ओसारपसार र गुणस्तरहीन औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइरहेको छ ।

हाल विशेषतः कार्बोप्लाटिन र सिसप्लाटिन भन्ने औषधिको  अभाव देखिएको उनले बताए। यो अभाव नेपालमा मात्र नभई विश्वव्यापी रूपमै रहेको यी औषधिहरू बनाउन आवश्यक पर्ने एपिआई अर्थात् मुख्य तत्वहरूको विश्वव्यापी आपूर्तिमा कमी आउनु हो । निकट भविष्यमा अक्सालोप्लाटिनको पनि अभाव हुन सक्ने देखिन्छ ।

यी औषधिहरू क्यान्सरको केमोथेरापी योजना प्लान गर्दा एउटा मुख्य आधारका रूपमा प्रयोग हुन्छ । यी औषधि बिना केमोथेरापीको रेजिम पूरा हुँदैन र केमोथेरापीले देखाउनुपर्ने प्रभावकारितामा गम्भीर नकारात्मक असर परिरहेको छ ।

कतिपय बिरामीहरूले छिमेकी मुलुकबाट वा बाहिरका पसलहरूबाट औषधि ल्याइरहेको भन्दै उनले यस्ता औषधिहरू औषधि व्यवस्था विभागमा दर्ता नभएका, सिल तोडिएका र भन्सार छलेर ल्याइएका पाएको बताए । क्यान्सरका धेरैजसो औषधि २५ डिग्री सेन्टिग्रेडभन्दा मुनिको तापक्रममा राख्नुपर्छ । तर, चितवन जस्तो गर्मी ठाउँमा ३६–३७ डिग्रीको तापक्रममा झोलामा बोकेर ल्याइने औषधिको प्रभावकारिता न्यून हुन्छ, जसले फाइदाभन्दा बढी बेफाइदा पुर्‍याउन सक्छ ।

अस्पतालमा डे–केयर र वार्ड गरी दैनिक झण्डै २०० जना बिरामीले केमोथेरापी लिनुपर्ने भन्दै उनले कार्बोप्लाटिन र सिसप्लाटिन जस्ता मुख्य औषधिलाई अन्य औषधिले सहजै प्रतिस्थापन गर्न नमिल्ने बताए।

धेरैजसो औषधिहरू अस्पतालमा बीमामार्फत उपलब्ध गराउँदै आएको भए पनि केही बाहिरका औषधि पसलहरूले अभाव भएका औषधिहरू कार्बोप्लाटिन, सिसप्लाटिन दिनका लागि अन्य सबै औषधि पनि आफ्नै पसलबाट किन्नुपर्ने सर्त राख्ने गरेको पाइएको छ ।  औषधि व्यवस्था विभाग र नेपाल सरकारले यस्तो अवैध ओसारपसार र बजारमा भइरहेको बेथितिको कडा अनुगमन गर्नुपर्ने उनको माग छ ।

अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा शिवजी पौडेलले कार्बोप्लाटिन र सिसप्लाटिनको सप्लाई छ महिनाअघि नै बन्द भएको भन्दै अस्पतालमा सिसप्लाटिन तीन महिना अघिसम्म आधा बिरामीलाई पुग्ने स्टकमा भएको भएपनि त्यसपछि नरहेको जानकारी दिए । ।

हाल अर्को बङ्गलादेशी कम्पनीबाट केही सप्लायर्सले नेपालका लागि दुई/तीन महिनाका लागि पुग्ने औषधि आयात भएको जनाए ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालले कार्बोप्लाटिन र सिसप्लाटिन आफूहरुकहाँ नरहेको बताए । उनले  विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओलाई पनि पठाई दिन आग्रह गर्दै पत्राचार गरिएको बताए ।

आफूहरुसँग पनि यस्तो औषधि केही मात्रामा रहेको भन्दै स्वास्थ्य सेवा विभागमा पनि केही मात्रामा यी औषधि रहेको आफूलाई जानकारीमा आएको उनले बताए । यी औषधि चलाउने अनुमतिसहित विभागले पठाएमा अरू बिरामीलाई पनि केही समयलाई उपलब्ध गराउन सकिने डा. नेपालको भनाइ छ ।