उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्न पाउने

उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ ।

निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत गर्ने विधेयक मस्यौदा गरी आयोगले सैद्धान्तिक स्वीकृतिका लागि कानुन मन्त्रालयमा पठाएको हो । निर्वाचनको आर्थिक पारदर्शिताका लागि भन्दै आयोगले सो प्रस्ताव अगाडि बढाएको हो ।

प्रस्तावित व्यवस्थामा भनिएको छ, ‘‘उम्मेदवार हुने व्यक्तिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने बैङ्क खाताको विवरण र सो निर्वाचनको प्रयोजनका लागि खर्च गर्ने रकम तथा आर्थिक सहयोग वा प्राप्त रकम सो खातामा जम्मा गर्ने र निर्वाचन प्रयोजनका लागि खर्च हुने रकम सोही खाताबाट मात्र खर्च गर्ने कुराको प्रतिबद्धतासमेत पेस गर्नुपर्नेछ ।’’

राजनीतिक दलले समेत बेलाबेलामा निर्वाचन खर्च महँगो भएको गुनासो गर्दै आएका छन् । आयोगले खर्च पारदर्शी बनाउन यस्तो व्यवस्था प्रस्ताव गरेको हो । यस्तै आयोगले दललाई राज्यकोषबाट रकम दिने व्यवस्था पनि प्रस्ताव गरेको छ ।

हरेक पटकको मस्यौदामा आयोगले यो व्यवस्था प्रस्ताव गरे पनि अस्वीकृत हुँदै आएको छ । यसअघि तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीको पालामा सरकारले ल्याएको आर्थिक वर्ष २०६०-६१ को बजेटमा राज्य कोषबाट दललाई पैसा दिने प्रस्ताव गरिएको थियो । प्रतिमत २० रुपियाँको प्रस्ताव थियो । अहिले आयोगले अघिल्लो निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा रकम दिने प्रस्ताव गरेको हो । यद्यपि रकम भने खुलाइएको छैन ।

आयोगले चन्दाको स्रोत पनि दल तथा उम्मेदवारले खुलाउनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरेको छ । उम्मेदवार वा राजनीतिक दलले कुनै व्यक्तिबाट ५० हजार रुपियाँँभन्दा बढी सहयोग लिँदा त्यसको स्रोत खुलाउन लगाएर लिनुपर्ने व्यवस्था प्रस्तावित छ । यस्तै उम्मेदवार वा राजनीतिक दलले कुनै एक जना व्यक्तिसँग एक आर्थिक वर्षमा एक लाख रुपियाँभन्दा बढी आर्थिक सहयोग लिन नहुने व्यवस्था प्रस्ताव गरेको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।