पहिले प्रधानसेनापति त्यसपछी प्रधानमन्त्री अमेरिका भ्रमणमा जांदै


काठमाण्डु– प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणअघि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका जाने भएका छन् । नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएलगत्तै भारतको औपचारिक भ्रमणका क्रममा नयां दिल्ली पुगेका शर्मा अमेरिका भ्रमणमा जाने निश्चित भएको हो । शर्माको भ्रमण जुन २६ देखी ३० को विचमा हुने गरी दुई पक्षबीच छलफल चलिरहेको छ ।

प्रधानसेनापति शर्मा अमेरिकासंगै मध्यपूर्वका मुलुकहरुको भ्रमणमा जाने तयारीमा छन् । उनले त्यहां शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको मिसनको निरिक्षण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण मध्य जुलाईका लागि तय भएको छ । दुवै पक्ष जुलाई १४-१५ मा भ्रमणको मिति तय गर्ने गरि काम गरिरहेका छन् । देउवाको यसपटकको भ्रमण राजकिय बनाउने तयारी छ । २० वर्षपछी नेपाली प्रधानमन्त्रीलाई अमेरिकाले विशेष सम्मान गर्ने र उनले ओभल अफिसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अमेरिकाले यसपटक देउवालाई विशेष सम्मान गर्ने कार्यक्रम समेत रहेको स्रोतको दावी छ । उनले बाइडेनसंगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनलगायत उच्च अमेरिकी अधिकारीहरुसंग भेटवार्ता गर्नेछन् । देउवा सम्मिट फर डेमोक्रेसी र त्यहीबाटै संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागी हुनेछन् ।

एमसीसी नेपालको संसदबाट पारित भएलगत्तै अमेरिकाबाट एकपछी अर्को उच्चस्तरिय भ्रमणहरु भइरहेका छन् । नेपालबाट पनि प्रधानमन्त्री देउवा र प्रधानसेनापति प्रभुराम शर्माको भ्रमण तय भएको हो ।

नेपाल र अमेरिकी सेनाबीच पछिल्लो समय घनिष्ट सम्बन्ध विकास भइरहेका बेला शर्माको अमेरिका भ्रमण हुन लागेको हो । अमेरिकाले नेपाली सेनालाई हेलिकोप्टर र जहाज उपलब्ध गराउने सम्भावना छ । त्यसका साथै स्टेट पार्टनरसिप प्रोगामको बारेमा समेत उनको भ्रमणमा छलफल हुनेछ ।

उनकै भ्रमणको पुर्वसन्ध्यामा सेनाले अमेरिकाबाट ६ हजार थान एम १६ र एम ४ हतियार समेत खरिद गर्ने तयारी गरेको छ । प्रधानसेनापति शर्माको एक साता अमेरिका भ्रमण हुने टुंगो लागिसकेको छ । शर्माले पेन्टागनमा आफ्ना समकक्षीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement