क्याप्टेन थापाको पुस्तक ‘बारुदमाथि उड्दा’ बजारमा


काठमाडौं – क्याप्टेन रामेश्वर थापाको संस्मरणत्मक कृति ‘बारुदमाथि उड्दा’ शनिबारदेखि बजारमा आएको छ । बुक–हिल पब्लिकेसनले छापेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले संयुक्त रुपमा शनिबार बिमोचन गरे ।

तत्कालीन माओवादी ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन थापाले युद्धस्थलका ताजा घटना, छट्पटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङमंगिएको बखतका उद्धारको वर्णन पुस्तकमा गरेका छन् ।

रामेछापको बेथान, सिन्धुलीको भिमाद, रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले आक्रमणलगायत ४० भन्दा बढी स्थानका घटनाको तात्कालिन अवस्था र उद्धारको रोचक वर्णन उक्त पुस्तकमा छ ।

“ककपिटबाट बाहिर ओर्लिने अवस्था थिएन, फोर्स र एम्युनिसन झारेर, घाइतेलाई हेलिकप्टरमा राख्दै गर्दा मैले ककपिटबाटै बाहिर नजर घुमाएँ, त्यहाँ लासहरू छरिएका थिए, हृदयविदारक अवस्था थियो, केही घाइते सुरक्षाकर्मी बोकेर म पुनः मुसिकोट एयरपोर्ट फर्किएँ ।” खारामा गरेको जोखिमपूर्ण हेलिकप्टर अवतरण र त्यहाँको दृश्य वर्णन गर्दै पुस्तकमा लेखिएको छ । पत्रकार राजाराम गौतमले सम्पादन गरेको उक्त पुस्तक ५२५ मा खरीद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement