सप्तरीमा हट्यो निषेधाज्ञा, के भन्छन् सिडिओ ?

सप्तरीमा हट्यो निषेधाज्ञा, के भन्छन् सिडिओ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज– सुनसरीको देवानगञ्ज घटनापछि सम्भावित साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै सप्तरीको राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएको भन्दै सोमबार बिहान १० बजेदेखि निषेधाज्ञा हटाएको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको प्रभाव जिल्लामा पर्न सक्ने आकलनका आधारमा केही दिनअघि निषेधाज्ञा लागू गरिएको थियो ।

सुरक्षा निकायको निरन्तर परिचालन, स्थानीय तह तथा सरोकारवालासँगको समन्वय र पछिल्लो अवस्थाको मूल्याङ्कनपछि प्रतिबन्ध आवश्यक नरहेको निष्कर्ष निकाल्दै आदेश फिर्ता गरिएको उनले बताए ।

तनाव कम गर्न र सामाजिक एकता सुदृढ बनाउन आइतबार जिल्ला प्रशासनको अगुवाइमा राजविराजसहित जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव र्‍याली आयोजना गरिएको थियो ।

र्‍यालीमा विभिन्न धर्म र समुदायका प्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय तथा स्थानीय बासिन्दाको सहभागिता थियो ।

प्रमुख जिल्लाअधिकारी थापाले हाल जिल्लाको शान्ति सुरक्षाको अवस्था पूर्ण रूपमा सामान्य रहेको तथा यातायात, शैक्षिक संस्था र अन्य दैनिक गतिविधि नियमित रूपमा सञ्चालन भइरहेको बताए ।

स्थानीय प्रशासनले नागरिकलाई कुनै पनि अफवाह वा उक्साहटमा नलाग्न आग्रह गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ ।

सामाजिक सञ्जालमार्फत अपुष्ट वा भ्रामक सूचना फैलाएर सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न नहुन पनि प्रशासनले अपिल गरेको छ ।