तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ


काठमाण्डु – तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएको छ ।

ब्युरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बैंकिङ कसुरमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ परेको एसपी बोटगीले जानकारी दिए ।

यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २०८० मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए ।

देउराली सहकारी र रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको आरोप उनीहरुमाथि छ ।

उनीहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले बताएको छ । उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी थियो ।

उनीहरु १ चैतमा हाजिर जमानीमा छुटेका थिए । हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ ।