काठमाण्डु – असोज १ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ ।
समापनका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति ई. आशिष गजुरेलले विज्ञता, अनुभव र निर्णय क्षमताको सदुपयोग गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए ।
सार्वजनिक–निजी साझेदारीमा फाइदा र जोखिमको बाँडफाँटसँगै विभिन्न क्षेत्रमा सहकार्य हुने भएकाले मुलुकको विकासका लागि यस्तो मोडल उपयुक्त हुने धारणा उनले राखे । ‘सरकार एक्लैले लगानी गरेर देश विकास सम्भव छैन, निजी क्षेत्रलाई पनि सँगै लिएर जानुपर्छ,’ उनले भने ।
उनले पूर्वाधार विकाससँगै व्यवस्थित, सुरक्षित र गुणस्तरीय आवास निर्माणमा पनि ध्यान दिनुपर्ने बताए । जग्गा तथा आवास क्षेत्रका समस्याबारे छलफल गरी समाधानतर्फ अघि बढ्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कानुनमा रहेका अवरोधलाई सहजीकरण गर्ने बताए ।
निजी लगानीलाई प्रोत्साहन गर्ने राज्यको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले लगानीकर्तालाई आवश्यक वातावरण निर्माण गर्नुपर्ने धारणा राखे । हदबन्दी लगायतका समस्या समाधान गरी निजी क्षेत्रको लगानी परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।
संघीय सभा सदस्य रुकेस रञ्जितले नेपालको अर्थतन्त्र सुधारको दिशातर्फ अघि बढिरहेको आभास घरजग्गा तथा आवास प्रदर्शनीको सफलताले दिएको बताए । उनले प्रदर्शनीमा देखिएको उत्साह र सहभागिताले निजी क्षेत्र तथा व्यवसायीमा रहेको सम्भावनालाई समेत उजागर गरेको बताए ।
रञ्जितले घरजग्गा व्यवसायलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्नुपर्ने धारणा राख्दै यस क्षेत्रका नीतिगत समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । घरजग्गा व्यवसायमा हदबन्दी लगाउने र कर मात्रै बढाउने नीतिले व्यवसायलाई प्रोत्साहन गर्न नसक्ने उनको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले घरजग्गा व्यवसायमा कायम हदबन्दीको व्यवस्था पुनरवलोकन गर्नुपर्ने बताएका छन् । हदबन्दीका कारण घरजग्गा व्यवसाय समस्याग्रस्त बनेको भन्दै उनले निजी क्षेत्रलाई सहज वातावरण बनाउन नीतिगत सुधार आवश्यक रहेको बताए ।
विगतका बजेट भाषणमा सरकारी कर्मचारीका लागि १ लाख आवास निर्माण सम्बन्धी योजनामा रियल स्टेट व्यवसायीलाई समेटने योजनालाई मूर्तरूप दिन आग्रह गर्दै आवास निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने उल्लेख गरे ।
वरिष्ठ उपाध्यक्ष मल्होत्राले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा तथा आवास क्षेत्रमा जाने कर्जामा लोन–टु–भ्यालु रेसियो कम्तीमा ७० प्रतिशत कायम गर्नुपर्ने मागसमेत गरे । यसबाट घरजग्गा तथा आवास क्षेत्रमा लगानी विस्तार भई बजारमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
घरजग्गा कारोबारमा आएको सुस्तताले निर्माण क्षेत्रदेखि बैंकिङ तथा अन्य व्यवसायमा समेत प्रभाव परेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई चलायमान बनाउन सके अर्थतन्त्र चलायमान हुने धारणा राखे ।
कार्यक्रमका सभापति ई. दीपक कुँवरले प्रदर्शनीले जग्गा, आवास तथा निर्माण क्षेत्रका व्यवसायी, उपभोक्ता र सरोकारवालाबिच प्रत्यक्ष सम्पर्क तथा संवादको अवसर सिर्जना गरेको बताए । प्रदर्शनीमा उत्साहजनक सहभागिता रहेको तथा सञ्चारमाध्यमको सहयोग महत्वपूर्ण रहेको उनले उल्लेख गरे । विपद्पछिको पुनर्निर्माणमा सरकारले घरजग्गा तथा आवास व्यवसायीलाई साथमा लिएर अनुभवको सदुपयोग गर्नुपर्ने बताउँदै उनले निजी क्षेत्र सघाउन आतुर रहेको बताए ।
जग्गा, आवास तथा निर्माण क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब २४० उद्योग तथा व्यवसाय जोडिएको उल्लेख गर्दै यस क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताए । प्रदर्शनी आयोजकका तर्फबाट विष्णुप्रसाद घिमिरेले एक्स्पोमा करिब ८० हजार दर्शकले अवलोकन गरेको जानकारी दिए ।
प्रदर्शनी सफल बनाउन सहयोग गर्ने प्रदर्शक, प्रायोजक, सहकार्य गर्ने संस्था, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाप्रति उनले आभार व्यक्त गरे ।
घिमिरेका अनुसार प्रदर्शनीका क्रममा केही स्टलबाट अपार्टमेन्ट तथा आवासीय परियोजनाका एकाइसमेत बिक्री भएका छन् । उनले निर्माण सम्पन्न भएर पनि बिक्री हुन नसकेका घर तथा आवासको समस्या समाधान गर्न नीतिगत सहजीकरण आवश्यक रहेको बताए ।
हदबन्दीका कारण घरजग्गा बिक्री तथा कारोबारमा कठिनाइ भइरहेको उल्लेख गर्दै उनले घरजग्गा तथा आवास क्षेत्रलाई उद्योगकै रूपमा हेरेर नीतिगत व्यवस्था गर्नुपर्ने धारणा राखे । बैंकिङ क्षेत्रबाट हुने कर्जा मूल्यांकन तथा ऋण प्रवाहमा समेत सुधार आवश्यक रहेको उनको भनाइ थियो । ४ दिनसम्म भृकुटीमण्डपमा सञ्चालन भएको नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा जग्गा, आवास, निर्माण सामग्री, प्रविधि, फर्निचर तथा सम्बन्धित सेवाका विभिन्न कम्पनी तथा संस्थाले सहभागिता जनाएका थिए ।
आयोजकका अनुसार प्रदर्शनीको समापनसम्म करिब ८० हजारले अवलोकन गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७५औं हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ एवं नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना र नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा सम्पन्न भएको छ ।




प्रतिक्रिया