चालकको घेराबन्दीमा उपभोक्ता


काठमाडौं – ढुवानी चालकको आन्दोलनका कारण उपभोक्ता दसैंको मुखमा सास्ती व्यहोर्न बाध्य छन्। सार्वजनिक यातायात तथा ढुवानी चालकको आन्दोलनका कारण खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको चर्को अभाव देखा पर्‍यो।

सर्वसाधारण सवारी साधन प्रयोगबाट पनि बञ्चित भए। चालकको आन्दोलनका कारण समयमा ढुवानी नहुँदा किसानले मल पाएका छैंनन् भने तरकारी, फलफूल र खाद्यान्न आपूर्तिमा समेत अवरोध भयो। चालकले मंगलबारदेखि पूर्वी र पश्चिमी क्षेत्रमा यातायात ठप्प पारे। आन्दोलनमा सहभागी नहुने कतिपय चालकलाई जुत्ताको माला र कालो मोसो दलेर अभद्र व्यवहार गरियो। सवारी सञ्चालनमा अवरोध सिर्जना गरियो।

उद्योगी, व्यवसायी र चालकले दसैंको मुखमै विविध माग राखेर छुट्टाछुट्टै आन्दोलन घोषणा गरी सरकारलाई गलाउने नीति लिए। संसद्मा पेश भएको सवारी दुर्घटनासम्बन्धी विधेयकको विरोधमा चालक उत्रिएसँगै दैनिक उपभोग्य बस्तुको ढुवानी ठप्प छ।

अत्यावश्यक सेवा ऐनमा अत्यावश्यक वस्तुमा उपभोक्तालाई समस्यामा पारी आन्दोलन गर्न नपाइने व्यवस्था छ। दैनिक उपभोग्य बस्तु ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दाल, चामल, नुन तेलजस्ता वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरणलाई अवरोध गर्न नपाइने व्यवस्था छ। अत्यावश्यक सेवामा अवरोध पुर्‍याए एक वर्षसम्म कैद तथा क्षतिभन्दा दोब्बर जरिवानाको व्यवस्था छ।

‘हाम्रो आन्दोलनमा कुनै संघ संगठनको समर्थन र ऐक्यवद्धता छैंन्’, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने, ‘सरकारले ल्याउन लागेको सवारी दुर्घटनाविधेयकमा विमति राखेर आन्दोलन सुरु गरेका हौं। माग पुरा नहुँदासम्म यथावत रहन्छ।’

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सौल युनिट एनओसी रुट इकाई समितिका अध्यक्ष पशुपति पाठक भने आफूहरू सरकारले ल्याउन लागेको नयाँ व्यवस्थाको विरोधमा नरहेको बताउँछन्। उनले दुर्घटनापछि प्रहरीले नियतवशस् दफा १६१९२० को साटो दफा १६१९३० र दफा १६१९३० को सट्टा दफा १६१९२० लगाउने गरेकाले विरोध गराएको बताए।

दफा १६१ ९२० मा चालकको लापरवाहीले मृत्यु भए तीन वर्षदेखि १० बर्षसम्मको कैद, ३० हजारदेखि एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। यसअघिको ऐनमा दुईदेखि १० वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको व्यवस्था थियो। यस्तै दफा १६१ ९३० मा चालकको लापरवाहीले दुर्घटना निम्तिए न्यूनतम ६ महिनादेखि एक वर्ष कैदको व्यवस्था गरिएको छ। यसअघि एक महिनादेखि एक वर्षको मात्रै कैदको व्यवस्था थियो।

‘गल्ती नहुँदा पनि नियतवशस् कडा दफा लगाएर हामीलाई कारवाही गर्ने प्रवृत्ति छ। सबै चालक खराब छैंनन्। तर एकै डालोमा हालेर फसाउने प्रवृत्तिविरुद्ध हामी आन्दोलित भएका हौं’, पाठकले अन्नपूर्णसित भने।

चालकको आन्दोलनका कारण पछिल्लो दुई दिनदेखि भारतबाट पेट्रोलियम पदार्थका साथै खाना पकाउने ग्यासको आपूर्ति पूर्ण रुपमा ठप्प भएको निगमले जनाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार मंगलबार रातिदेखि भारतबाट पेट्रोलियम पदार्थ आपूर्ति नभएको जानकारी दिए। यस्तै बुलेट चालकले पनि भारतबाट ग्यास बोकेर बुलेट सञ्चालन गरेका छैन्न। बुधबार साँझदेखि उपभोक्ता इन्धन र ग्यासका लागि डिपोमा लाइन बस्न थालेका छन्।  यो खबर आजको अन्नपूर्णपोष्टबाटमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement