विद्याजीले जित्नुपर्छ भन्ने हाम्रो चाहना थियो, खुशीको कुरा होः चन्दा चौधरी


काठमाडौं – राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले मंसिर १५ गतेको उपनिर्वाचन धाँधलीरहित रुपमा सम्पन्न भएको भन्दै निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय र आम मतदाताहरुलाई धन्यवाद दिएकी छिन् ।

पूर्वमन्त्रीसमेत रहेकी नेतृ चौधरीले भनिन्,‘यो निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो । कहीँकतै धाँधली भएन् । यो खुशीको कुरा हो । म निर्वाचन आयोगलगायत सम्बन्धित सबै निकायलाई यहाँबाट धन्यवाद दिन चाहन्छु ।’

निर्वाचनमा हार÷जित हुनु स्वभाविक भएको उनको प्रतिक्रिया छ । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता चौधरीले भनिन्,‘लोकतान्त्रिक देशमा निर्वाचनमा हार र जित हुनु स्वभाविक हो ।’ उनले कांस्की क्षेत्र नम्बर २ मा संघीय संसदको लागि भएको निर्वाचनमा नेकपाकी विद्या भट्टराईले जितेकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्,‘विद्याजीप्रति हाम्रो सहानुभुति थियो । उहाँले जित्नुपर्छ भन्ने नै हाम्रो चाहना थियो । नतिजा त्यही आयो, यो खुशीको कुरा हो ।’

केन्द्रमामात्रै नेकपा र कांग्रेसबीच सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध रहेको बताउँदै उनले यो पटकको उपनिर्वाचनमा कतिपय ठाउँमा दुवै पार्टी मिलेको पनि टिप्पणी गरिन् । उनले भनिन्,‘महोत्तरीमा त कांग्रेस र नेकपाबीच आन्तरिक एकता देखियो । पिपरा गाउँपालिकामा त्यही देखियो । उहाँहरु जसरीपनि मधेशवादी दललाई हराउनैपर्छ भनेर लाग्नुभयो ।’

चौधरीले महोत्तरीको कतिपय वडामा कांग्रेसको पकड रहेको क्षेत्रमा पनि नसोचेको मत खसेको सुनाईन् । उनले भनिन्,‘जबकी पिपरा गाउँपालिका भनेको कांग्रेसको पकड क्षेत्र हो । त्यहाँ रामचन्द्र तिवारी, हरिशंक मिश्राजस्ता हस्तीहरु छन् । पिपरा गाउँपालिकामा कांग्रेसको १९ सयको हाराहारीमा मत खसेको छ । सोही गाउँपालिकाको वडा नम्बर ६ मा त कांग्रेसको जम्मा २४ मत खसेको छ । यो विश्वास गर्ने मत नै होईन् । जबकी यो क्षेत्र कांग्रेसका गढ मानिन्छ ।’

नेतृ चौधरीले उपनिर्वाचनमा राजपा र समाजवादी पार्टीले चुनावी गढबन्धन नबनाएकोमा भने असन्तुष्टि पोखिन् । उनले भनिन्,‘यसअघि भएको प्रदेश र संघको निर्वाचनमा शीर्ष नेताहरुले चुनावी गठबन्धन गर्नुभयो । तर, स्थानीय तहको निर्वाचन भनेर हो कि किन हो ? उहाँहरुले गठबन्धन वा तालमेल गर्नुभएन् । यो दुःखद् छ । पार्टी त हिजोपनि एकता थिएन, त्यतिवेला त गरियो नि ।’

प्रतिक्रिया दिनुहोस
Advertisement