निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै बदलिन सकेन : अध्यक्ष ढकाल

निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै बदलिन सकेन : अध्यक्ष ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताएका छन् ।

बुधबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पछिल्ला ३ वर्षमा निजी क्षेत्रका धेरै पुराना कानुनी तथा नीतिगत समस्याहरू समाधानतर्फ अघि बढेको भए पनि निजी क्षेत्रको योगदानलाई हेर्ने दृष्टिकोणमा अपेक्षित सुधार आउन नसकेको बताए ।

उनले भने, ‘हामीले ३ वर्षको समयमा धेरै पुराना कानुन परिवर्तनका कुराहरू उठायौं । चाहे निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणको विषय होस्, चाहे सरकार र निजी क्षेत्रबिच पक्ष–प्रतिपक्षको रूपमा मात्र कुरा गरेर आफ्ना तार्किक समस्याहरू राख्न सकिन्छ भन्ने धारणा होस्, हामी वास्तवमै एउटा तहमा सफल भएका छौं । तर अझै निजी क्षेत्रले गरेको योगदानलाई हेर्ने दृष्टिकोण जुन हुनुपर्ने हो, त्यो भएको छैन ।’

अध्यक्ष ढकालले महासंघभित्रको नेतृत्व चयन प्रक्रियाबारे पनि धारणा राख्दै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेको बताए । उनले आगामी नेतृत्वलाई निजी क्षेत्रका बाँकी समस्याहरू समाधानतर्फ अझ प्रभावकारी रूपमा काम गर्न शुभकामना दिए ।

उनले भने, ‘ज्योत्सना श्रेष्ठहरूको टीमले अझै निजी क्षेत्रका समस्याको समाधानका लागि अगाडि बढाइएको कामलाई पूरा गर्न अब आउने नयाँ टीमले निरन्तरता दिनेछ भन्ने विश्वास लिएको छु । मैले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेँ, तर सम्भव भएन ।’

ढकालले निजी क्षेत्रलाई राष्ट्रको आर्थिक विकासको प्रमुख साझेदारका रूपमा हेर्न आवश्यक रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबिच सहकार्य अझ मजबुत हुनुपर्नेमा जोड दिए ।