विश्व शहरी फोरममा चन्द्रागिरि नगरपालिकाले ‘भिएलआर’ प्रस्तुत गर्ने

विश्व शहरी फोरममा चन्द्रागिरि नगरपालिकाले ‘भिएलआर’ प्रस्तुत गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ ।

संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने सम्मेलनमा नगरपालिकाले पहिलो पटक तयार पारेको ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (भिएलआर)’ प्रस्तुत गर्न लागेको हो ।

विश्वका एक सय ५० भन्दा बढी देशको सहभागिता हुने अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियाली देशका सहरबाट चन्द्रागिरि नगरपालिकाले भाग लिने लागेको हो ।

दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरिले ‘भिएलआर’ प्रतिवेदन तयार गरेको थियो । सम्मेलनमा भाग लिन चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी इजिप्टको कायरो तर्फ प्रस्थान गरेका छन् ।

उनले सम्मेलनमा नगरपालिकाका तर्फबाट भिएलआर प्रतिवेदन प्रस्तुत गर्नुका साथै नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुति एवं सम्बोधन समेत गर्दै छन् ।

सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र यसलाई स्थानीयकरण गर्न नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन तयार पारेको थियो । दिगो विकास लक्ष्यका विभिन्न विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरलगायत क्षेत्रलाई समावेश गर्दै नगरपालिकाले एक वर्षको अथक प्रयासबाट प्रतिवेदन तयार पारिएको हो ।

चन्द्रागिरि यस्तो प्रतिवेदन प्रस्तुत गर्ने दोस्रो नगरपालिका हुनेछ । धुलिखेल नगरपालिकाले पनि ‘भिएलआर’ प्रतिवेदन प्रस्तुत गरिसकेको छ । सहरीकरणसँग सम्बन्धित तथ्याङ्क व्यवस्थापनलाई दिगो विकास लक्ष्यको मापनसँग जोड्न चन्द्रागिरिले उच्च प्राथमिकतामा राखेको छ ।

विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा विशेष गरेर सहरीकरणका लागि मुख्य चुनौती बनिरहेका खानेपानी, सरसफाइ र सहरी पूर्वात्रधारको व्यवस्थापनको विषयमा सहभागी देशका बीचमा छलफल हुने छ ।

साथै बस्ती विकासका क्रममा भोगका समस्या, जलवायु परिवर्तनका कारण देखिएका असरका बारेमा अनुभव आदान प्रदान हुने छ ।