चिनियाँ सेनाको कमाण्ड ७२ वर्षीय चाङ योसियालाई


काठमाण्डु – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले केन्द्रीय सैन्य आयोग (सीएमसी) को उपाध्यक्षको जिम्मेवारी चाङ योसियालाई दिने भएको छ ।

सीपीसीको २०औं महाधिवेशनले तीन जर्नेललाई केन्द्रीय कमिटीबाटै बिदा गरेर सीएमसीको जिम्मेवारी ७२ वर्षीय योसियालाई दिने भएको हो । उक्त शक्तिशाली आयोगको नेतृत्व पाउन लागेका चाङ सीका विश्वास पात्र मानिन्छन् ।

चीनमा ६८ वर्ष पुगेपछि अवकाश लिने परम्परा छ । सोही कारण सैनिक आयोगका निवर्तमान उपाध्यक्ष सुइ चिल्याङ, रक्षा मन्त्री रहेका जर्नेल वे फङ्कु र संयुक्त स्टाफ विभागका जर्नेल ली झुवचेङलाई सीले केन्द्रीय कमिटीबाटै बिदा गरेका हुन् ।

यो आयोग चीनको सम्पूर्ण सैन्य र सुरक्षासम्बन्धी कार्यहरूको निर्णायक निकाय हो । यस मातहत चिनियाँ जनमुक्ति सेना र प्रहरी दुवै रहन्छन् । यसलाई सैनिक नीति निर्माण तथा कार्यान्वयन गराउने निकायका रूपमा चिनिन्छ ।

चाङ सर्वोच्च नेता सीका विश्वास पात्र भएकै कारण यो जिम्मेवारी दिन लागिएको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement