जेलमै शोभराजको भोक हड्ताल !


काठमाडौं – नेपाल सरकार र अदालतले अन्याय गरेपछि अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले जेलभित्रै भोक हड्ताल जारी राखेका छन् । उनले झन्डै दुई सातादेखि भोक हड्ताल जारी राखेका हुन् । तर, उनलाई उपचार गरी शरिरको आवश्यकता पुरा गरिरहेको जनाइएको छ ।

 

 

 

भर्खरै मुटुको सर्जरी गराएर भक्तपुर जेलमा फर्काइएका विकिनी किलर शोभराजले जेलभित्र भोक हड्ताल गरेको जेल प्रशासनले गुपचुप राखेको छ । नेपालको अदालत र सरकारले अन्तर्रा्ष्ट्रिय मानवअधिकार र न्यायको सिद्धान्तविपरित आफुलाई थुनामुक्त नगरेको भनी उनले भोक हड्ताल गरेका हुन् । उनको स्वास्थ्य निक्कै कमजोर भइसकेको छ ।

 

 

 

एक महिना अघि मात्र जेलमै पुगेर उनको मुटुको सर्जरी गरेका डा. रामेश कोइरालाले स्वास्थ्य परिक्षण गरी फर्किएका थिए । ‘भोक हड्तालमा हुनहुन्छ, केही खानुभएको छैन । कानुनी कारणले गर्दा उहाँको भोक हड्ताल सुरू भएको भन्ने बुझेका छौं’, जेल प्रशासन स्रोतले भन्यो,‘स्वास्थ्य कमजोर रहेका कारणले खुवाउने प्रयत्न गरिरहेका छौं तर भोक हड्तालमा बसेका कारण समस्या परिरहेको छ ।’

 

 

७४ वर्षिय शोभराजले १४ वर्ष नेपालमा जेल जीवन विताइसकेका छन् । उनले नेपाली युवती नीहित विश्वाससँग जेलमा विवाह पनि गरेका थिए । उनको शारिरीक अवस्था र अपराधको प्रकृतिलाई हेरेर छाड्नका लागि अदालतमा बारम्बार अपिल गरिएको थियो । काठमाडौंको अपराधमा सजाय भोगिरहेका शोभराजलाई जेलमै राख्ने नियतले सजाय काटेको १० वर्ष वित्दा भक्तपुरको मुद्दा लगाएर राखिएको शोभराजका वकिलहरूले बताएका छन् ।

 

 

 

अपराध गरेको करिब ३८ वर्षपछि शोभराजलाई भक्तपुरमा क्यानेडेली नागरिक लउरेन्ट करिरेको हत्या अभियोगमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । जबकि, अमेरिकन नागरिक कोनी ब्रन्चिजको हत्या मुद्दामा विगत १४ वर्षदेखि केन्द्रीय कारागारमा रहेका शोभराजविरूद्ध भक्तपुरको मुद्दा पनि गाँसिएको थियो मुलुकी ऐनको ज्यानसम्बन्धी महलको दफा १३ को उपदाफा ३ अनुसार शोभराजविरूद्ध कर्तव्यज्यान मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता छ ।

 

 

 

 

६ पुस ०३२ मा क्यानेडेली नागरिक लउरेन्ट करिरेको हत्याको घटनामा शोभराजविरूद्ध मुद्दा दायर भएको थियो । पछि अनुसन्धान गर्ने गरी ०३२ सालमै भक्तपुरको सरकारी वकिल कार्यालयले सो मुद्दा तामेलीमा राखेको थियो । लउरेन्ट करिरेको शव भक्तपुरको साँगानजिकै फेलापरेको थियो । मणिको खानी देखाउन लैजाने भन्दै शोभराजले लउरेन्टको हत्या गरेको उनीमाथि लेखिएको पुस्तक ‘लाइफ एन्ड क्राइम अफ शोभराज’मा उल्लेख छ ।

 

 

 

अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज अपराध गरेको वेला प्रहरीलाई छक्याउँदै भाग्न सफल भए पनि ०६० मा नेपाल आउँदा पक्राउ परेका थिए । त्यतिवेला हत्या गरिएका लउरेन्टको कपडाहरू शोभराजको गाडीमा फेलापरेको थियो ।

 

 

 

 

जुन कुरा त्यसवेला नै प्रहरीले मुचुल्कामा उल्लेख गरेको थियो ।त्यतिवेला करिब ४० वर्षका रहेका ती प्रत्यक्षदर्शीहरू अहिले ८० वर्ष पुगिसकेका छन् । शोभराज पनि ७४ वर्ष नाघिसकेका छन् । सुरूमा प्रहरीले अमेरिकन युवती कोनीको मुद्दामा मात्र अनुसन्धान गरेको थियो । भक्तपुर प्रहरीले भने क्यानेडेली युवकको हत्या मुद्दामा गत वर्षबाट अनुसन्धान थालेको थियो ।

 

 

०३२ मा शोभराज थाइल्यान्डमा रहस्यमय ढंगले लगातार सातजनाको हत्या गरी नेपाल आएका थिए । त्यहीवेला उनले ६ पुसमा लउरेन्ट र ८ पुसमा कोनीको हत्या गरेको प्रहरीले जनाएको छ ।
जेलमा ७० वर्षभन्दा माथिका बृद्धलाई मानवअधिकारको दृष्टिकोणबाट पनि लामो समय राख्न मिल्दैन ।

 

 

तर, शोभराजले १४ वर्ष साजय भोगीसक्दा पनि ‘नियोजित’ रूपमा उनलाई राखिएकोप्रति अधिकारकर्मीहरू पनि छक्क परेका छन् । स्वास्थ्य विग्रदै गएका शोभराजलाई केही भए उनका फ्रान्सेली सहयोगी र वकिलले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय मानव अधिकार उल्लङ्घन गरेको अभियोगपत्र संयुक्त राष्ट्र संघको मानव अधिकार उच्च आयोगसहित अदालतमा समेत दर्ता गराउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement