काठमाण्डु – सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको रिट निवेदनमा सुनुवाइ गरेको छ ।
जेष्ठ नागरिकले पाउने ७५ प्रतिशत कैद सजाय माफीको माग गर्दै शोभराजले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा न्यायाधीश मिरा खड्काको एकल इजलासमा सुनुवाइ गरेको हो । सर्वोच्चले मुद्दाको सुनुवाइ सकिएको जानकारी दिएको छ ।
‘कारागारमार्फत मन्त्रिपरिषदविरुद्ध उहाँले निवेदन चढाउनुभएको थियो । सर्वोच्च अदालतमा अन्तिम फैसला भएर थुनामा रहेको व्यक्तिले बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गर्न मिल्दैन भनेर दरपीठ भएको थियो । त्यो दरपीठ उपर परेको निवदेनमा सुनुवाइ भएको हो,’ सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले भने ।
शोभराजले गत वर्ष १९ कात्तिकमा अधिवक्ता शकुन्तला थापामार्फत जेष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।
दुई जना विदेशी पर्यटकको हत्या गरेका कारण शोभराजलाई प्रति हत्या बीस वर्षका दरले सजाय तोकिएको थियो । २०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चार्ल्सलाई प्रहरीले पक्रेको हो ।
सर्वोच्चको जन्मकैद फैसला पछि आफूले सजाय भुक्तान गरी सकेको र एक वर्ष पहिला नै छुट्नु पर्ने जिकिर उनले काराकारका अधिकारीहरुसँगै गर्दै आएका थिए ।
‘द सर्पेन्ट किलर’को रुपमा कुख्यात शोभराज अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियरेको ०३२ मा भएको हत्या अभियोगमा नेपालमा पक्राउ परी कैद सजाय भोगिरहेका छन् ।




प्रतिक्रिया