सभामुखमा डोलप्रसाद निर्विरोध निर्वाचित, शपथ  आइतबार

सभामुखमा डोलप्रसाद निर्विरोध निर्वाचित, शपथ  आइतबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुख पदका लागि अर्यालको एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् ।

संघीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।

सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । त्यो समयमा अर्यालले मात्र मनोनयन दर्ता गरेका थिए ।

अर्यालको प्रस्तावक रास्वपाका सभापति रवि लामिछाने तथा समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल थिए ।

उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

यस्तै अर्यालले आइतबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार दिउँसो २ः३० बजेका लागि शपथ ग्रहणको विशेष समारोह तय गरिएको छ।

नेपालको संविधानको धारा ९१ बमोजिम निर्वाचित सभामुखलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ।