आईजीपी कार्कीको राजीनामा दबाबबारेका समाचारप्रति प्रहरीको आपत्ति

आईजीपी कार्कीको राजीनामा दबाबबारेका समाचारप्रति प्रहरीको आपत्ति

भ्रामक सूचना फैल्याएको भन्दै कारबाही गर्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाएको छ।

प्रहरीले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र नागरिकको विश्वासमा असर पर्न सक्ने भन्दै त्यस्ता सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गरेको छ।

प्रहरी महानिरीक्षकको सचिवालयका नाममा प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बिहीबार वक्तव्य जारी गर्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित समाचार तथा टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रहरीले अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाले आम नागरिकमा भ्रम र नकारात्मकता सिर्जना गर्न सक्ने तथा सुरक्षा जोखिम निम्त्याउन सक्ने उल्लेख गरेको छ।

यस्ता सूचनाले नागरिकको सेवामा समर्पित सुरक्षा संगठनप्रतिको विश्वास, सांगठनिक छवि र निष्ठामा असर पार्न सक्ने प्रहरीको भनाइ छ।

समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको सत्यता सुनिश्चित गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह प्रहरीले गरेको छ।

सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै प्रहरीले पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्नसमेत प्रहरीले भनेको छ।

भ्रामक प्रचारबाट विचलित नहुने प्रहरीको दाबी

नेपाल प्रहरीले सरकारको नीति तथा निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्ने प्रहरीको भनाइ छ।

यसका साथै, भ्रामक समाचार र स्वार्थकेन्द्रित टिप्पणीबाट प्रभावित नभई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न संगठनका सम्पूर्ण कर्मचारीलाई निर्देशन दिएको भनिएको छ।

प्रहरीले आमनागरिकलाई प्रमाणित, आधिकारिक तथा तथ्यमा आधारित समाचारमा विश्वास गर्न र अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न पनि आग्रह गरेको छ।

प्रहरीलाई विवादमा तान्ने प्रयास भएको आरोप

वक्तव्यमा केही सीमित व्यक्तिले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध गतिविधि गर्न सकिन्छ भन्ने सोच राखेको आरोप लगाइएको छ।

त्यस्ता गतिविधिको अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

‘नेपाल प्रहरी सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध संगठन हो’, वक्तव्यमा भनिएको छ, ‘संगठनको प्रतिष्ठा, व्यावसायिकता र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने गतिविधिलाई कानुनी प्रक्रियाबाट सम्बोधन गरिनेछ।’