इजरायलको सत्ता फेरि अनिश्चित, नेतन्याहुलाई बहुमतको धक्का

इजरायलको सत्ता फेरि अनिश्चित, नेतन्याहुलाई बहुमतको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलको आमनिर्वाचनको प्रारम्भिक परिणामले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई उनका प्रमुख प्रतिद्वन्द्वी तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटभन्दा झिनो अन्तरले अगाडि देखाएको छ । यद्यपि, नेतन्याहुको गठबन्धनले संसद्मा बहुमत पुर्‍याउन सकेको छैन ।

९७ प्रतिशत मतगणना सकिँदा नेतन्याहुको लिकुड पार्टीसहित दक्षिणपन्थी र अति–रुढिवादी यहुदी सहयोगी दलहरू १२० सदस्यीय नेसेटमा ५३ सिट जित्ने अवस्थामा देखिएका छन् । आइजेनकोटको याशार पार्टीसहित विपक्षी गठबन्धनका चार दलले ४८ सिट पाउने प्रारम्भिक अनुमान छ ।

दुवै नेताले सरकार गठनका लागि आवश्यक गठबन्धन बनाउन आफूले पहल गर्ने बताएका छन् ।

यस निर्वाचनमा अरब नेतृत्वका दलहरूले भने अहिलेसम्मकै ठूलो सफलता हासिल गर्ने देखिएको छ । ती दलहरू १९ सिट जित्ने अवस्थामा रहेकाले सरकार गठनमा निर्णायक भूमिका खेल्न सक्ने सम्भावना छ । तर एकबाहेक अधिकांश यहुदी दलले अरब नेतृत्वका दलसँग सहकार्य नगर्ने प्रतिबद्धता जनाएका छन् ।

मतदान केन्द्रमा पुग्न नसकेका सैनिक, कूटनीतिज्ञ तथा अस्पतालमा उपचाररत बिरामीसहितका समूहका करिब ४ लाख ८० हजार अनुपस्थित मतपत्रको गणना बिहीबार सुरु भएको छ । यी मतको परिणामले विभिन्न दलले प्राप्त गर्ने अन्तिम सिट संख्यामा परिवर्तन ल्याउन सक्नेछ ।

इजरायलको समानुपातिक निर्वाचन प्रणालीअनुसार अन्तिम परिणाम सार्वजनिक भएपछि राष्ट्रपति आइज्याक हर्जोगले सबै राजनीतिक दलसँग परामर्श गर्नुहुनेछ । त्यसपछि सरकार गठन गर्न सबैभन्दा बढी सम्भावना भएको नेतामध्ये एकलाई उहाँले सरकार गठनको जिम्मेवारी दिनुहुनेछ ।

सरकार गठनको प्रक्रिया केही सातासम्म लम्बिन सक्ने बताइएको छ । गठबन्धन निर्माणमा दुवै पक्ष असफल भए इजरायलमा पुनः निर्वाचन हुन सक्नेछ ।

राष्ट्रपति हर्जोगले यसपटकको निर्वाचनमा ७७.७ प्रतिशत मतदान भएकोमा प्रशंसा गर्नुभएको छ । उहाँका अनुसार यो दुई दशकभन्दा बढी समययताकै सबैभन्दा उच्च मतदान हो ।

“इजरायली समाजका लागि यो सम्मानको विषय हो । लोकतन्त्रप्रतिको गहिरो चाहना देखिनु उल्लेखनीय थियो,” हर्जोगले भन्नुभएको छ ।

उहाँले आगामी साता आधिकारिक निर्वाचन परिणाम प्राप्त भएपछि सबै राजनीतिक दलसँग छलफल सुरु गर्ने बताउनुभएको छ । साथै, अर्को निर्वाचन हुन नदिन सबै पक्षले खुला सोचका साथ वार्ता गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री नेतन्याहु र उनका प्रमुख प्रतिद्वन्द्वी आइजेनकोट दुवैले आफूलाई नै सरकार गठनका लागि जिम्मेवारी दिनुपर्ने दाबी गरेका छन् ।