दैलेख – महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो।
दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो। यो २०७४ असार महिनाको घटना हो। आफन्त र परिवारको दबावमा गोठमा सुत्न बाध्य पारिएकी तुलसीको छाउगोठमा सुतेकै कारण ज्यान गुम्यो।
सोही वर्ष स्थानीय २४ वर्षिया लालसरा विकको पनि छाउगोठमै मृत्युभयो। उनी पनि महिनावारी भएपछि घरदेखि टाढा रहेको छाउगोठमा सुतेकी थिइन्। आफन्त र परिवारको दबावमा छाउगोठमा सुतेकी उनले पनि आफ्ना ज्यान जोगाउन सकिनन्। अनर्थ हुने र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण महिनावारीको समयमा घरभित्र बस्न नदिदा उनको प्राण गुम्यो। असुरक्षित छाउगोठमा किशोरी र महिलाको ज्यान जाँदासमेत जिल्लामा छाउगोठमा बस्ने र बसाल्नेक्रम रोकिएको छैन।
जो छाउगोठमै जलिन दैलेखको दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटकी ४६ बर्षिया बिक केहीदिन अघि छाउगोठमै जलिन्। उनी असार ८ गते छाउगोठमै सुतेकाबेला आगोमा जलेकी हुन्। आगोमा जलेको लामो समयपछि मात्रै उक्त घटना सार्वजनिक भएको हो। महिनावारी हुँदा घरदेखि टाढा रहेको गोठमा बसेकी बसन्तीले किरा भगाउन बालेको आगो उनकै शरिरमा सल्किएको हो।
महिला र किशोरीहरु महिनावारीको समयमा घरभित्र बस्न पाएका छैनन्। बरु छाउगोठहरु भत्किाएपछि कतिपय महिलाहरु महिनावारीको बेलामाअहिले पनि पाँच दिनसम्म अस्थायी रुपमा स्याउला र पातले बारेर घरबाहिरै बस्नेगरेका छन्। यसबाट महिला तथा किशोरीहरु थप असुरक्षित बनेका छन्। सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अहिले पनि करिब ६० प्रतिशत महिला तथा किशोरीहरु महिनावारीको सयममा घरभित्र बस्दैनन्।
प्रहरीले छाउगोठ भत्काएपछि स्थानीयले अहिले पनि महिला तथा किशोरीलाई महिनावारीको बेलामा घरभित्र बसाल्दैनन्। बरु छाउगोठको ठाउँमा धमाधम ‘छाउघर’ हरु निर्माण भइरहेका छन्। छाउगोठ भन्दा प्रहरीले भत्काउने त्रासका कारण स्थानीयले घरदेखि अलग्गै छाउघर बनाउन थालेका छन्। घरदेखि टाढा निर्माण गरिएका यस्ता गोठलाई महिला र किशोरीहरुले सामुहिक रुपमा प्रयोग गर्छन्।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया