सत्तारुढ दलका प्रमुख सचेतकको ठोकुवा : प्रचण्ड सरकारको आयु १ महिना पनि छैन


काठमाण्डु – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु १ महिना पनि नरहेको ठोकुवा गरेका छन् ।

आज शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार बेठीक नियतका साथ बनेकाले आयु लामो नरहेको बताए । प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीका २ मन्त्री सहभागी छन् ।

उनले भने, ‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौती छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा १ महिनाभन्दा यसको आयु छैन ।’

उनले सरकार निरन्तर रूपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री प्रचण्डले गठबन्धनलाई घात गरेको आरोप लगाए । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको उनले आरोप लगाए । प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताए । प्रचण्डको जस्तो चिन्तन भएका मानिसहरूलाई मुलुकको राजनीतिको मूलधारबाट सिमान्तकृत गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ । उहाँकै कारणले, उहाँबाहेक अरु कोही होइन । म हिजोका दिनमा केपी कमरेडप्रति एकखालको आलोचन गर्थे तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे । आफ्नो कुर्सी फेरिराख्छन्, सत्ता सहकर्मीहरूलाई फेरिराख्छन् तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ । उहाँले नेतृत्व गरेको समीकरण अब कुनै हालतमा टिक्दैन । उहाँको नियतमै खोट छ । यो मनोविज्ञानले निर्माण भएको समीकरण भत्काउनैपर्छ ।’

प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाएमा मुलुकले दुःख पाइराख्ने र प्रचण्डले आफ्नो अनुकूलतामा फेरि अर्को गठबन्धन बनाउने उनले बताए ।

अबको ७ दिनभित्र मुलुकको राजनीतिक कोर्स नयाँ ढंगले अगाडि बढ्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले २ जना काण्डवाला मानिसहरूलाई लिएर अहिलेको सरकार बनाएको उनको टिप्पणी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेका मुद्दाहरू राफसाफ गर्ने मनसाय राखेको उनको आरोप छ । नेता चौधरीले गृहमन्त्री लामिछानेको चाहना पूरा हुन नदिने बताए ।

उनले भने, ‘उहाँको आफ्नो मनसाय छ – गृहमन्त्री भएर आफूमाथि आइपरेका मुद्दाहरू राफसाफ गर्ने । तर त्यो राफसाफ गर्ने चाहना पूरा हुनेवाला छैन । प्रचण्डभन्दा पनि अस्थिर मान्छे घण्टी पार्टी, रवि लामिछाने ।’

नेता चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले साँवा राफसाफ मात्रै नभएर ब्याज र हर्जना समेत असूल गर्न तयार भएर बसेको उनले बताए ।

वर्तमान सरकार ढाल्ने र आफ्नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने उनले बताए । यदि अध्यक्ष नेपाल प्रधानमन्त्री नबने प्रचण्डबाहेक जोसुकैलाई पनि प्रधानमन्त्री बनाउन आफूहरू तयार रहेको उनले बताए । एकीकृत समाजवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने र जतिसक्यो आफूहरू बिगार्ने खेलमै लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement