काठमाडाैं – सुदूरपश्चिम र कर्णाली प्रदेशका बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडीलगायतका विभिन्न पहाडी जिल्लामा यतिबेला छाउगोठ भत्काउने अनौठो होड चलेको छ । देशको सुदूर कुनामा छाउगोठ भत्काइएका खबरले पत्रपत्रिकाका पाना भरिएका छन् र त्यहाँदेखि टाढाको राजधानीसम्म ती खबरको कम्पन महसुस भइरहेको छ ।
सरकारी र गैरसरकारी तहबाट छाउपडी प्रथा अमानवीय प्रथा भएको र महिलालाई रजस्वला तथा सुत्केरी भएका बेला निर्जन गोठको अमानवीय जीवन व्यतित गर्न बाध्य पार्नु हुँदैन भन्दै प्रतिक्रियात्मक कदम चालिँदै आएको छ । सरकारी र गैरसरकारी तबरबाट छाउगोठ भत्काउने काम भए पनि छाउ बार्ने चलनमा कमी आउन सकेको छैन । यस्तो किन त ? किनभने कुसंस्कृतिको अन्त्य पहिले मनबाट हुनुपर्छ र त्यसपछि मात्र त्यसले भौतिक जीवनमा परिणाम दिन्छ भन्ने बोध नभएका कारण ।
भत्काउनु पर्ने कुरीतिलाई थियो, भत्काउनु पर्ने गलत सोच, संस्कार र अन्धविश्वासलाई थियो तर भत्किए छाउगोठ । मानसिकतामा छाउगोठ कायमै रहेसम्म छाउगोठ भत्काएर छाउ बार्ने प्रथा हट्ने होइन । किनभने ती गोठ भएका कारण समाजमा छाउ बार्ने प्रथा सुरु भएको होइन, समाजको अन्धचेतनामा छाउ भएकाले ती छाउगोठ बनेका हुन् । जबसम्म यस्तो चेतनाबाट समाज सञ्चालित भइरहन्छ, तब भत्किएका छाउगोठका जगमा नयाँ छाउगोठ उभ्याइन्छन् । समाज सेवाको नाममा बनेका संघ संस्था छाउगोठ भत्काउन दशकौं अघिदेखि सक्रिय छन् । उनीहरूको सक्रियता जति बढी छ, त्यति नै मात्रामा छाउगोठका संख्या बढिरहेका छन् । यसले दिने एउटै सन्देश के हो भने छाउगोठ समाजको मनस्थितिबाट मेटिएको छैन, बरु छाउगोठ एकप्रकारको धन्दा बनेको छ, जसबाट केहीको गुजारा चल्छ ।
महिला महिनावारी र सुत्केरी हुँदा घरदेखि पर बनाइएको गोठमा गएर बस्नुपर्ने प्रथा नै छाउपडी प्रथा हो । यस प्रथामा सुत्केरी हँुदा करिब बाइस दिन र महिनावारी हुँदा पाँचदिन महिलाले छाउ गोठमा बिताउनु पर्ने बाध्यता हुन्छ । यस्तो बेला महिलालाई घरमा बस्न, धारा, खोला तथा पोखरीको पानी छुन नदिने गरिन्छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।




प्रतिक्रिया