नेपाल चेम्बर र जिम्बावेबीच व्यापार सहजीकरण र लगानी अभिवृद्धिका लागि भेटवार्ता

नेपाल चेम्बर र जिम्बावेबीच व्यापार सहजीकरण र लगानी अभिवृद्धिका लागि भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ ।

काठमाण्डुको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानीको अवसर, जलवायु परिवर्तन विरुद्धको कदम लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।

राजदूत न्होकोमोसँग चेम्बर अध्यक्ष अग्रवालले भने, ‘नेपाल र जिम्बावेबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ४ दशक पुग्दैछ, असंलग्न नीति, जलवायु परवर्तन जस्ता महत्वपूर्ण विषयहरूमा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले सहकार्य गर्दै आएका छौं । अब आर्थिक क्षेत्रमा पनि सहकार्य गरेर अगाडि बढ्नुपर्दछ ।’

अध्यक्ष अग्रवालले नेपालमै आवासीय राजदूतावास खोल्नका लागि पहल गर्न समेत राजदूत न्होकोमोेसँग प्रस्ताव गरे । दुवै देशमा आवासीय राजदूतावास खोलेर व्यापार सहजीकरण, जलवायु परिवर्तनविरुद्ध सहकार्य, लगानी अभिवृद्धि तथा पर्यटन क्षेत्रमा सहकार्य गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

दुवै देशलाई फाइदा पुग्ने गरी द्विपक्षीय सहमति गरेर आर्थिक लाभ लिनुपर्ने उनको भनाइ छ । नेपाल र जिम्बावेबीचको निजी क्षेत्रबीच बी टु बी भेटवार्ता गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ ।

नेपालमा लगानीको वातावरण सहज रहेको र प्रतिफल सुनिश्चिता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए । उनले भने, ‘नेपालले अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाबाट मुलुकको सार्वभौम क्रेडिट रेटिङ गराउँदा दक्षिण एसियामा नै भारतपछि दोस्रो स्थानमा रेटिङ बीबी माइनस प्राप्त गर्नु हामी निजी क्षेत्रका लागि सुखद कुरा हो ।’ उनले हाइड्रो पावर, पर्यटन लगायतका क्षेत्रका लगानीका लागि पहल गर्न राजदूत न्होकोमोलाई प्रस्ताव गरे । आगामी वर्षको बजेटमा सहज व्यवस्था गरिएकाले वैदेशिक लगानीलाई धेरै नै सहजता प्राप्त गरेको अध्यक्ष अग्रवालले बताए ।

चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत न्होकोमोले नेपालमा आवासीय राजदूत खोल्नुपर्ने विषयमा आफू गम्भीर रहेको र यसका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् ।

उनले नेपालको जलविद्युत् क्षेत्रमा लगानीको सम्भावना रहेको र त्यसका लागि जिम्वावेका निजी क्षेत्रसँग पहल गर्ने समेत बताइन् । नेपालको सगरमाथाले आफूलाई लोभ्याएको भन्दै उनले पर्यटन क्षेत्रमा लगानीको अथाह सम्भावना रहेकोमा जोड दिइन् । २ देशबीच आर्थिक सहकार्य र साझेदारीका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।