चितवन– भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१२ मुनाल चोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मङ्गलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो । माइनर (साधारण) शल्यक्रिया गर्दा नै महिलाको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उनको मृत्यु भएको हो । पाठेघरमा सिष्ट भएको भन्दै उनको शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो । मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको पौडेलले बताए । बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसीयूमा राखे पनि बचाउन नसकिएको उनले जानकारी दिए ।
मृतक महिला यही भदौ ३ गते पाठेघरको ट्यूमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना भएकी थिइन् । मङ्गलबार बिहान ९ बजे शल्यक्रिया थियटरमा राखी लठ्ठाउने सुई लगाइ बेहोस बनाउने क्रममा उनको होस नआएको पौडेलले बताए ।
यस्तै, काफ्लेको मृत्युको कारण खोज्न छानबिन समिति गठन गरिएको छ ।आफन्तले चिकित्सकको लापरबाहीको कारण सामान्य शल्यक्रिया गर्न अस्पताल गएकी काफ्लेको निधन भएको बताएपछि चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक राखेर छानबिन समिति गठन गरिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर अस्पतालका सिनियर डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय सर्वपक्षीय छानबिन समिति गठन गरिएको हो ।
समितिका सदस्यहरुमा क्यान्सर अस्पतालका एनेस्थेसिया डाक्टर प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिंजाली रहेका छन् । त्यसैगरि मृतकका आफन्तका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल र मन्दिरा काफ्ले रहेका छन् ।
छानबिन समितिले ७ दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पनि उक्त घटनाबारे छानबिन गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
प्रतिक्रिया