‘प्रधानसेनापतिज्यू वर्षात्अघि नै घर बनाइदिनूस्’


 बारा – बारा-पर्साका आँधी–हुरी पीडितहरूले आउने वर्षात्अघि नै घर बनाइदिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग आग्रह गरेका छन् । सोमबार हावाहुरीबाट प्रभावित बारा र पर्साका गाउँहरूको स्थलगत निरीक्षण गर्नुभएका प्रधानसेनापति थापासँग उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

फेटा गाउपालिका ६ पुरैनियाका अमरुद्दिन देवानले बर्षाअघि नै स्थायी घर बनाइदिन प्रधानसेनापति थापालाई अनुरोध गर्नुभयो । ‘बर्षाअघि घर बन्न नसके पीडितको बिचल्लि हुने बताउँदै उहाँले भन्नुभयो–सरकारले घर बनाउने जिम्मा दिएपछि समयमै काम पुरा हुने विश्वास पलाएको छ ।’

हेलिकप्टरबाट दिउँसो बाराको फेटा गाउँपालिका १ भलुही भरवलीया र वडा नम्बर ६ पुरैनियामा पुग्नुभएका प्रधानसेनापति थापाले हुरी प्रभावितलाई भेटेर घर बनाउन जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । उहाँले दुई महिनाभित्रै घर बनाएर पीडितलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

‘लाजपूर्जा भएको नम्बरी जग्गा नभएका पीडितहरूका लागि भने सामूहिक आवास बनाउने योजना छ’, उहाँले भन्नुभयो, ‘जसको नम्बरी जग्गा छ, त्यसको विवरण हामीलाई छिट्टै उपलब्ध गराइदिनुस् ।

उहाँले थप्नुभयो–ऐलानी जग्गामा बस्दै आएकाहरूको हकमा प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षले जग्गा उपलब्ध गराइदिएमा सुकुम्बासी पीडितहरूका लागि सामूहिक आवास बनाउँछौँ ।’ प्रधानसेनापति थापाले सोमबार नै हुरीले प्रभावित बाराको परवानीपुर गाँउपालिका ४ चैनपुर, पर्साको सुखचैना, जगरनापुर गाँउमा पनि स्थलगत निरीक्षण गर्नुभयो ।

निरीक्षण टोलीमा प्रधानसेनापति थापासँगै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराई, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, बाराका प्रहरी उपरीक्षक सानुराम भटटराई, गाउँपालिका अध्यक्ष, वडा अध्यक्षलगायतको सहभागीता रहेको थियो ।

यही चैत १७ गते आँधीहुरीले बारामा एक हजार आठ सय ९५ र पर्सामा तीन सय ९६ घर टहरमा क्षति पु¥याएको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ । स्मरणीय छ, सरकारले हुरी प्रभावितको घर बनाउने जिम्मा नेपाली सेनालाई दिएको छ । यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement