चिलिमे जलविद्युत् आयोजनाको टनेलमा सेनाको उद्धार टोली, ४ शव र मानव अंग फेला

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा सेनाको उद्धार टोली, ४ शव र मानव अंग फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोसी बाढीपछि खोज तथा उद्धारका क्रममा चिलिमे जलविद्युत् आयोजनाको टनेलमा ४ शव र १ मानव अंग फेला परेको छ ।

नेपाली सेनाका गोताखोर सहितको संयुक्त उद्धार टोलीले टनेलको अन्तिम किनारासम्म पुगेर खोजी गर्दा ती शव तथा मानव अंग फेला पारेको हो ।

नेपाली सेनाले बुधबार साँझ सार्वजनिक गरेको खोज तथा उद्धार अपडेटअनुसार फेला परेका शव तथा मानव अंगलाई हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ । यसअघि भदौ १५ गते पनि टनेलबाट १ शव र १ मानव अंग फेला परेको थियो ।

सेनाका अनुसार लाङ्टाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिक सहितको संयुक्त उद्धार टोलीले टनेलभित्र खोजी गरिरहेको छ । माथिल्लो त्रिशूली–१ को टनेलमा आयोजना प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी जारी राखेको छ ।

त्रिशूली–३ ए को टनेल तथा पावर हाउस क्षेत्रमा संयुक्त टोलीले खोजी गरिरहेको छ । त्रिशूली–३ बी आयोजनाको आवास क्षेत्रमा नेपाली सेना सहितको संयुक्त टोलीले एक्स्काभेटर र लोडर प्रयोग गरेर खोजी गर्दा २ आवास भवनको प्लिन्थ क्षेत्रबाहेक अन्य संरचना फेला नपरेको सेनाले जनाएको छ भने खोजी कार्य जारी छ ।

सेनाले रसुवाको स्याफ्रुबेँसी क्षेत्रमा ३ समूह परिचालन गरी खोजी गरिरहेको जनाएको छ । साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रमा खोज तथा मूल्यांकन र सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम स्थानमा ड्रोनमार्फत राहत सामग्री ढुवानीसमेत भइरहेको सेनाले जनाएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ९०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपतकालीन उपचारको काम गरिरहेका छन् ।

सेनाका अनुसार हवाई साधनमार्फत हालसम्म ४ हजार १७७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक छन् ।

त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बुधबार ४५ जनाले स्वास्थ्य सेवा लिएका छन् । हालसम्म सेवाबाट ३ हजार ९३४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ ।

यसैबिच बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतल बजारको सडक खुलाउन भित्तातर्फको कडा चट्टान फुटाउने काम भइरहेको छ । सडक सञ्चालनका लागि ब्लास्टिङमार्फत चट्टान हटाउने कार्य भइरहेको सेनाले जनाएको छ ।

चिलिमे क्षेत्रमा विद्युत् प्रवाहका लागि तार बिछ्याउने कामसमेत गरिएको सेनाले जनाएको छ ।