बेइजिङ – चीनका २ पूर्व रक्षामन्त्रीहरू ली साङ्फु र वेई फेङ्गेलाई भ्रष्टाचारको कसूरमा निलम्बित मृत्युदण्डको सजाय सुनाइएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार सैन्य अदालतले बिहीबार उनीहरूलाई २ वर्षको ‘निलम्बित मृत्युदण्ड’ सुनाएको हो ।
चिनियाँ कानुनी व्यवस्थाअनुसार २ वर्षसम्म सजाय कार्यान्वयन रोकिनेछ र त्यस अवधिमा आचरण सुधारिएको खण्डमा सजायलाई आजीवन काराबासमा परिणत गरिनेछ । यद्यपि उनीहरूले बाँकी जीवन जेलमै बिताउनुपर्नेछ र उनीहरूको सजाय कम हुने वा पेरोलमा छुट्ने कुनै सम्भावना रहने छैन ।
अदालतले दुवै पूर्व रक्षामन्त्रीहरूलाई घुस लिएको र भ्रष्टाचार गरेकोमा दोषी ठहर गर्दै सम्पूर्ण व्यक्तिगत सम्पत्ति समेत जफत गर्ने फैसला गरेको छ ।
वेई फेङ्गेले सन् २०१८ देखि २०२३ सम्म चीनको रक्षामन्त्रीका रूपमा कार्यभार सम्हालेका थिए । उनीपछि सन् २०२३ को मार्चमा ली साङ्फु रक्षामन्त्री नियुक्त भएका थिए । तर लीको कार्यकाल निकै छोटो रहेको थियो ।
सार्वजनिक जीवनबाट अचानक बेपत्ता भएको २ महिनापछि सन् २०२३ को अक्टोबरमा उनलाई पदबाट बर्खास्त गरिएको थियो ।
चीनमा राष्ट्रपति सी जिनपिङले सेनाभित्र सुरु गरेको व्यापक भ्रष्टाचार विरोधी अभियानका क्रममा धेरै उच्च सैन्य अधिकारीहरू कारबाहीमा परेका छन् । केही समयअघि मात्र चीनका शीर्ष सैन्य जनरल झाङ युक्सियालाई समेत पदबाट हटाइएको थियो ।
राष्ट्रपति सीले सेनाभित्रको भ्रष्टाचार विरुद्धको लडाइँलाई क्रान्तिकारी शुद्धीकरणको संज्ञा दिएका छन् ।




प्रतिक्रिया