काठमाण्डु – नेपालस्थित चिनियाँ दूतावासले नेपाली पत्रकारलाई चिनियाँ नागरिकले निश्चित नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन घुस दिन खोजेको भन्ने समाचारको खण्डन गरेको छ ।
दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचार गलत रहेके र त्यस्तो हल्लालाई पूर्ण रूपमा अस्वीकार गरेको छ । दूतावासका प्रवक्ताले चीनविरुद्ध नियोजित रूपमा बदनाम गर्ने प्रयास भएको भन्दै यस्ता गतिविधिको निन्दा गरेका छन् ।
प्रवक्ताका अनुसार चीनले सधैं अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई पालना गर्दै आएको छ । साथै, चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर समर्थन गर्दै आएको र नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास तथा जनजीवन सुधारमा सहयोग पुर्याउँदै आएको विज्ञिप्तीमा उल्लेख छ ।
दूतावासले सम्बन्धित नेपाली निकायलाई उक्त हल्लाबारे गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ । साथै, यसमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न व्यक्तिलाई नेपाली कानुनअनुसार कडा कारबाही गर्न पनि आग्रह गरिएको छ ।
प्रवक्ताले चीन नेपालसँग कानुन कार्यान्वयन तथा सुरक्षा सहकार्यलाई थप मजबुत बनाउन तयार रहेको उल्लेख गरेका छन् ।
‘तर्क र विवेकले हल्लालाई अन्त्य गरोस्,’ प्रवक्ताको भनाइ उद्धृत गर्दै दूतावासले नेपाल–चीनबीचको परम्परागत मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन सबै नेपाली मित्रहरू एकजुट हुने विश्वास व्यक्त गरेको छ ।
प्रवक्ताले सामाजिक सञ्जालमा फैलिएको यो हल्लाको गम्भीरतापूर्वक छानबिन गर्न नेपाल सरकारसँग माग पनि गरेका छन्।
उनले भनेका छन्, ‘हामी सम्बन्धित नेपाली अधिकारीहरूलाई तपाईंले उल्लेख गर्नुभएको हल्लाहरूको गम्भीर, गहन र पूर्ण अनुसन्धान गर्न र त्यसमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरू साथै पछाडि रहेकाहरूलाई नेपाली कानून अनुसार कडा सजाय दिन आग्रह गर्दछौं। हामी हाम्रा दुई देशको साझा हितको रक्षा गर्न नेपाली पक्षसँग कानून प्रवर्तन र सुरक्षा सहयोगलाई सुदृढ पार्न तयार छौ ।’





प्रतिक्रिया