नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौं : चीन


काठमाण्डु – चीन सरकारले नेपालमा नयाँ सरकार गठन भएपछि मिलेर काम गर्न तयार रहेको प्रतिक्रिया दिएको छ ।

आज मंगलबार बेइजिङमा आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा नेपालको राजनीतिक परिस्थितिबारे सोधिएको प्रश्नमा चिनियाँ परराष्ट्र प्रवक्ता माओ निङले नेपालमा एकता र सहकार्य गरेर नयाँ सरकारको गठन कार्य सहज रूपमा अगाडि बढ्ने आशा व्यक्त गरिन् ।

उनले भनिन्, ‘नयाँ सरकार गठन सम्बन्धी कार्यलाई सहज रूपमा अघि बढाउन र राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपालका सबै दल एकताबद्ध भई सहकार्य गर्ने विश्वास छ ।’

मैत्रीपूर्ण छिमेकी र सहयोगी साझेदारको रूपमा चीनले नेपालसँगको सम्बन्धलाई निकै महत्त्व दिने बताउँदै उनले शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्तको पालना गर्न, परम्परागत मित्रता अभिवृद्धि गर्न, व्यावहारिक सहयोगलाई प्रगाढ बनाउन र आगामी पुस्ताका लागि चीन–नेपालको रणनीतिक सहयोगात्मक साझेदारी प्रवर्द्धनका लागि नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement