अन्ततः झुके ट्रम्प, चीनमाथि लगाएको मुद्रा अवमूल्यनको आरोप लिए फिर्ता


एजेन्सी – सन् १९९४ यता आधिकारिक रूपमा पहिलोपटक कुनै देशलाई मुद्रा अवमूल्यनको आरोप लगाएको अमेरिकाले उक्त आरोप फिर्ता लिएको छ ।

अमेरिकारको अर्थ मन्त्रालयले गत अगष्टमा चीनमाथि मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र भनी लगाएको आरोप फिर्ता लिएको हो ।
चीन र अमेरिकाबीच व्यापारिक तनाव कम गर्नका लागि एउटा प्रारम्भिक सम्झौता हुनुभन्दा दुई दिन अघि अमेरिकाले त्यस्तो घोषणा गरेको हो ।

यो हप्ता हुने व्यावसायिक सम्झौताका कारण अमेरिकाको सेयर बजार उच्च विन्दुमा पुगेको छ । अमेरिका र चीनले सम्झौतामा यसै हप्ता हस्ताक्षर गर्ने सम्भावना रहेको बताइएको छ । सन् २०१८ देखि सीमा शुल्कलगायतका विषयमा एकअर्काको विरुद्ध उभिएका अवस्थामा तनाव कम गर्न यो सम्झौता गर्न लागेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि पटकपटक आफ्नो देशमा उत्पादन भएका वस्तुको बजार भाउ कम देखाउन चिनियाँ मुद्राको मूल्य घटाएको आरोप लगाउँदै आएका थिए । तर सोमबार अमेरिकाले गत अगस्ट महिनाबाट चिनियाँ मुद्रा युआनको मूल्य बढ्दै गएको बताएको छ ।

आफ्नो मुलुकको उत्पादन क्षेत्रमा चीनले प्रभाव पारेको आरोप लगाउँदै आएका ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनका बेला चीनलाई मुद्रा अवमूल्यन गरेको आरोप लगाउने प्रतिबद्धता नै जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement