चीन–अमेरिका व्यापार युद्धमा ‘ब्रेक’, चीन भ्रमणमा जाँदै राष्ट्रपति ट्रम्प


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रतिनिधीत्व गर्दै वासिङटन पुगेका चीनका प्रमुख व्यापार वार्ताकार तथा उपप्रधानमन्त्री लिउ हे र राष्ट्रपति ट्रम्पबीच पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त हस्ताक्षरसँगै डेढ वर्षअघि सुरू भएको संसारका दुई शक्तिशाली अर्थतन्त्र अमेरिका र चीनबीचको व्यापार युद्धमा ब्रेक लागेको छ । अब दुई देशबीचको यु द्ध मत्थर हुने बताइएको छ । यी दुई देशबीच सन् २०१८ जुलाईदेखि एकअर्काका सामानमा कर थपेर व्यापार युद्ध सुरू भएको थियो ।

विभिन्न चरणमा भएका वार्ताहरू अवरूद्ध भएर फेरि सुरू हुँदै डेढ वर्षमा पहिलो चरणको सम्झौता भएको हो । यो सम्झौतामा दुबै पक्षले यसअघि एकअर्काका सामानमा थपेका कर भने हटाएका छैनन् ।

सम्झौताअनुसार बेइजिङले आगामी दुई वर्षमा सन् २०१७मा अमेरिकाबाट किनेको भन्दा २ सय अर्ब बढी डलरको सामान र सेवा किन्ने भएको छ भने अमेरिकाले केही चिनियाँ सामानमा लगाएको कर घटाउने र गत डिसेम्बरबाट थप सामानमा लगाउने भनेको कर नलगाउने भएको छ ।

चीनले ५४ अर्बको उर्जा, ७८ अर्बको उत्पादन, ३२ अर्बको कृषि सामग्री र ३८ अर्ब डलरको थप सेवा अमेरिकाबाट किन्ने प्रतिवद्धता जनाएको छ । चिनियाँ वार्ताकार हेले बजारको अवस्था हेरेर चीनले आगामी दुई वर्षमा ४० अर्ब डलरको कृषि उत्पादन अमेरिकाबाट किन्ने बताए । अमेरिकाबाट ठूलोमात्रामा सोयबिन चीन निर्यात हुन्छ ।

एक घन्टाभन्दा बढी चलेको हस्ताक्षर समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको पत्र पढेर सुनाइएको थियो । पत्रमा सीले पहिलो चरणको सम्झौताले अमेरिका र चीन आफ्ना समस्या वार्ताका माध्यमबाट समाधान गर्न सक्छन् भन्ने सन्देश दिएको उल्लेख गरेका छन् ।

ह्वाइट हाउसको इस्ट रूममा ठूलो संख्यामा उपस्थित सांसद, उद्योगी, व्यापारी, पत्रकार र सरोकारवालाहरूलाई सम्बोधन गर्दै ट्रम्पले सम्झौता चीनसँगको व्यापार सम्बन्धमा यसअघि कहिल्यै नभएको कदम भएको बताए ।

उनले आफू छिट्टै बेइजिङ जाने र राष्ट्रपति सीलाई पनि भेट्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement