काठमाण्डु– चीनले आफ्नो क्षेत्रमा बाढीमा परेर अलपत्र परेका नेपाली नागरिकलाई यथाशीघ्र नेपाल फर्काउन सक्रिय रूपमा सहयोग गरिरहेको बताएकाे छ।
साेमबार हिमनदी भत्किएर आएको पहिरोका कारण दक्षिणपश्चिम चीनको तिब्बतस्थित केरुङ बन्दरगाहमा फसेका विदेशी नागरिकको उद्धार तथा राहत प्रयाससम्बन्धी जानकारी दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले यस्तो जानकारी दिएका हुन्।
बाढी प्रभावितका लागि ५० टन विपद् राहत सामग्री काठमाण्डु पठाएको छ। राहत सामग्रीको पहिलो खेप काठमाण्डु आइपुगेको प्रवक्ता जियाकुनले बताएकाे ग्लोवल टाइम्सले जनाएको छ ।
नेपालका विपद्प्रभावित क्षेत्रमा उद्धार कार्यलाई सघाउन चीनले सुरुङ उद्धार विशेषज्ञका दुई टोली समेत अग्रपंक्तिमा खटाएको छ।
चीनले नेपाली पक्षलाई विपद्प्रभावित क्षेत्रका तस्बिर, भू–उपग्रह तथा जलविज्ञानसम्बन्धी तथ्यांक र माथिल्लो क्षेत्रमा रहेको अवरोध बनेको ताल (ब्यारियर लेक) सम्बन्धी पूर्वसूचनालगायत जानकारी उपलब्ध गराएको प्रवक्ता गुओले बताएका छन्।
उनका अनुसार आइतबार दिउँसोसम्म नेपालका विपद्प्रभावित क्षेत्रमा सम्पर्कमा आएका सबै चिनियाँ नागरिकलाई सुरक्षित रूपमा उद्धार गरी स्थानान्तरण गरिएको छ।
चीनले अझै सम्पर्कविहीन तथा बेपत्ता रहेका चिनियाँ र विदेशी नागरिकको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ। साथै, बेपत्ता विदेशी नागरिकको पहिचान तथा थप व्यवस्थापनका लागि चीनमा रहेका विदेशी दूतावासहरूसँग समेत नजिकबाट समन्वय भइरहेको प्रवक्ता गुओले बताएका छन्।




प्रतिक्रिया