चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ


बेइजिङ – हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश मन्त्रालयमा बोलाई समस्याबारे सोधपुछ गरेको चिनियाँ अधिकारीले बताएका छन् । मेङलाई यही डिसेम्बर १ मा क्यानडामा पक्राउ गरिएको थियो भने अमेरिकालाई सुपुर्दगी गर्ने बताइएको छ ।

चीनका उपविदेशमन्त्री ले युचेङद्वारा शनिबार जारी एक विज्ञप्तिलाई उद्धृत गरी टोरोन्टो स्टारले लेखेको छ, “बेइजिङले राजदूत म्याककालमसँग क्यानडामा पक्राउ परेका मेङलाई तत्काल छोड्न आग्रह गरिएको छ । राजदूतसँगको भेटमा मेङलाई तत्काल रिहा नगरिए यसको परिणाम राम्रो हुनेछैन ।”

मेङलाई गत हप्ता एउटा विमानबाट अर्कोमा जाने क्रममा क्यानडाको भ्यानकुभर अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उनी हङकङबाट मेक्सिको जाने क्रममा गैरकानूनी क्रियाकलापमा सम्लग्न रहेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई बढीमा तीसबर्षसम्मको जेल सजाय माग गरिएको छ ।

हुवावे कम्पनीका संस्थापक रेन झेङफेइकी छोरीसमेत रहेकी मेङले कम्पनीको मातहतको स्काइकम कम्पनीमार्फत इरानमा कारोबार गरेको र यो अमेरिकाले इरानमाथि लगाएको नाकाबन्धीको उल्लङ्घन भएको भन्दै पक्राउ गरिएको हो ।

अमेरिकी सरकारले कम्पनी र यसको चिनियाँ सरकारसँगको निकटतालाई निकै लामो समयदेखि हेरिरहेको र यो अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको जनाएको छ । हुवावेमाथि इरानमा कारोबार गरेर नाकाबन्धीको उल्लङ्घन गरेको भन्दै कैयौँ पटक इरानसँग कारोबार नगर्न चेतावनी दिँदै आएको थियो ।

मेङलाई क्यानेडाली अदालतले सहमति दिएमा अमेरिका सुपुर्दगी गर्ने वा धरौटीमा रिहा गर्ने बिषयमा शुक्रबार सुनुवाई हुने बताइएको थियो सुनुवाई आगामी सोमबारका लागि सारिएको छ । हुवावेले आफ्नो आर्थिक मामिला प्रमुख कर्मचारी मेङले कुनै गल्ती गरेको जानकारी नभएको बताउँदै आएको छ भने चिनियाँ सरकारले मेङको रिहाइका लागि कडा आवाज उठाउँदै आएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस
Advertisement