चीन पुग्यो म्याङ्कुट आँधी : जनजीवन अस्तव्यस्त, थुप्रै शहरमा ‘हाई अलर्ट’


एजेन्सी– फिलिपिन्स र हंगकंगमा बितन्डा मच्चाएपछि म्यांगकूट आँधी चीन पुग्ने बित्तिकै दुई जनाको मृत्यु भइसकेको छ । आँधीका कारण त्यहाँ  प्रतिघण्टा एक सय ६२ किलोमिटर गतीमा हावा बहिरहेको छ ।

फिलिपिन्सको लुजोनबाट सक्रिय भएको म्याङ्कुट नामक सामुद्रिक आँधी चीनको दक्षिणी क्षेत्र प्रवेश गरेको छ । आँधीका कारण चीनको गुवाङडोङ प्रान्तसहित हङकङ र मकाउमा पनि जनजीवन प्रभावित हुनुका साथै भौतिक क्षति समेत भएको  समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

फिलिपिन्समा मृत्यु हुनेको संख्या ६४ पुगेको छ जसमा धेरैजसोको मृत्यु भारी वर्षापछिको पहिरोका कारण भएको छ । म्यांगकूटलाई सन् २०१८ को सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।

म्याङकुट आँधीले दक्षिणी चीनको जनजीवन अस्तव्यस्त पारेको छ जहाँ डुबान वर्षा र तीव्र हुरी चलिरहेको छ । प्रतिघण्टा १ सय ६२ किलोमिटरको वेगमा आएको उक्त आँधीका कारण उडानहरू रद्द भएका छन्, रेलहरू रोकिएका छन् र मुख्य सडकहरू बन्द भएका छन् । लाखौँ मानिसहरूको जनजीवन ठप्प भएको छ ।

चिनियाँ सरकारी माध्यमका अनुसार उक्त क्षेत्रमा दुईजनाको ज्यान गएको छ । गुवाङडोङ क्षेत्रमा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । उडिरहेका भग्नावशेषबाट बच्न सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरिएको छ ।

समुन्द्रमा पानीको सतह साढे तीन मिटरसम्म माथि आएको र त्यहाँका जिउँदा माछाहरू सडकमा बगिरहेको सिन्ह्वाले उल्लेख गरेको छ । २५ लाख २० हजार भन्दा बढी मानिसहरुलाई अन्यन्त्र स्थानान्तरण गरिएको छ भने ४८ हजार डुङ्गालाई फिर्ता बोलाइएको छ ।

हंगकंगमा उच्च तहको सतर्कता जारी गरिएको  छ । त्यहाँ अधिकांश पसलहरू र सार्वजनिक सेवाहरू बन्द गरिएको र अन्तर्राष्ट्रिय विमानस्थलमा ८ सय भन्दा बढी उडानहरू रद्द गरिएको छ

एजेन्सीकाे सहयाेगमा

 

प्रतिक्रिया दिनुहोस
Advertisement