प्रधानमन्त्रीको चीन भ्रमणअघि सरकारले चीनसंग बनायो छुट्टै संयन्त्र


काठमाडौँ – प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्ने दुई दिनअघि सरकारले चीनसँग सहकार्य र सहयोगसम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनसम्बन्धी छुट्टै संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले आइतबार चीनसँग दुईपक्षीय समझदारी र सहमतिअनुसार अघि बढेका र आगामी परियोजना कार्यान्वयनका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेको हो । बैठकले संयन्त्र स्थापना गर्ने समझदारीपत्रको मस्यौदा पनि स्वीकृत गरेको छ ।

यसबाट दुईपक्षीय सहकार्यले तीव्रता पाउने सरकारको भनाइ छ । मस्यौदा स्वीकृत भएकाले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा यसमा समझदारी हुनेछ । मन्त्रिपरिषद्ले संयुक्त संयन्त्र गठनसम्बन्धी समझदारीपत्रमा चिनियाँ विदेश मन्त्रालयसँग हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए । परराष्ट्र सचिवस्तरमै दुईपक्षीय संयन्त्र रहेको अवस्थामा फेरि छुट्टै संयन्त्र बनाउन लागिएको हो ।

सचिवस्तरकै बैठक समयमा हुन नसकेको अवस्थामा यस्तो संयन्त्र चुस्त होला भन्ने विषयमा परराष्ट्र अधिकारी नै ढुक्क छैनन् । ‘यसले कामभन्दा बैठक धेरै गराउने मात्र हो,’ एक अधिकारीले भने । संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय परराष्ट्र मन्त्रालयको प्रस्तावमा गरिएको हो । प्रधानमन्त्री ओलीको असार ५ बाट सुरु चीन भ्रमणक्रममा हुने सहमतिहरू मन्त्रिपरिषद्बाट पारित भएपछि सम्झौता र सहमति गर्न परिपक्व हुनेछ । रेलमार्ग, चिनियाँ लगानी, विभिन्न सडक निर्माण, कृषिमा सहकार्य, यातायात तथा पारवहन सम्झौता कार्यान्वयनलगायत विषय भ्रमणमा छलफल हुनेछ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement