काठमाण्डु– चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नेपालमा गएको विनाशकारी विपद्पछि चीनले उद्धार तथा राहत कार्यमा निरन्तर सहयोग गरिरहेको बताएका छन्।
बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै गुओले चीनका मौसम विज्ञान तथा जलस्रोतसम्बन्धी निकायले नेपाली पक्षसँग निरन्तर अनुगमनसम्बन्धी सूचना आदानप्रदान गरिरहेको जानकारी दिए।
उनका अनुसार चीनको मौसम विज्ञान प्रशासनले नेपालका लागि ‘माजु’ प्रणालीको विशेष क्लाउड संस्करण तत्काल विकास गरी नेपाली पक्षलाई उपलब्ध गराएको छ। यसले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि मौसमसम्बन्धी आवश्यक सूचना उपलब्ध गराउन सहयोग गर्नेछ।
गुओले विपद्को सामना गर्न चीन र नेपालबीच भइरहेको सहकार्यप्रति नेपाली पक्षले गहिरो आभार व्यक्त गरेको बताए। उनका अनुसार नेपालले चीनको सहयोगलाई दुई देशबीचको महान् छिमेकी मित्रताको प्रतिबिम्बका रूपमा लिएको छ।
यसैबीच, चीनले नेपालका लागि तेस्रो चरणको आपत्कालीन राहत सामग्री बिहीबार बिहान पठाएको छ। राहत सामग्रीमा टेन्ट, कम्बल, शव राख्ने फ्रिज, चिकित्सकीय सुरक्षात्मक पोशाक तथा स्याटेलाइट सञ्चार उपकरणलगायत छन्।
उक्त उडानमार्फत डीएनए पहिचान विज्ञहरूको दोस्रो टोली पनि नेपाल आएको छ। टोलीले विपद्मा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचानलगायत राहत कार्यमा नेपाली पक्षलाई सहयोग गर्नेछ।
गुओले चीनले नेपालको आवश्यकताअनुसार आगामी दिनमा पनि आपत्कालीन सहयोग उपलब्ध गराउने र अन्तर्राष्ट्रिय उद्धार सहकार्यलाई निरन्तरता दिने बताए।




प्रतिक्रिया